दशैँका लागि अग्रिम टिकट बुकिङ रोकियो

विर्तामोड, १६ असोज ।

यातायात व्यवसायीहरूले दशैँका लागि गाडीको अग्रिम टिकट बुकिङ रोकेका छन् । गएको शुक्रवारदेखि भएको अत्यधिक वर्षाका कारण काठमाण्डौ उपत्यका जोडिने प्रमुख सडकहरू अवरुद्ध भएकाले अहिलेका लागि टिकट बुकिङ रोकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।
यसअघि सरकार र व्यवसायीहरूको सहमतिमा असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्दै घटस्थापनादेखि पूर्णिमासम्मका लागि देशभर रुट अनुमति खुला गरिएको थियो । तर, पछिल्लो विपद्ले यसअघिको योजनाअनुसार काम गर्न नसक्ने भएकोले अग्रिम बुकिङ गर्ने काम रोकिएको सिटौलाले बताउनुभयो ।
काठमाण्डौ उपत्यकासँग जोडिने मुख्य सडकमध्ये अरनिको राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन् । पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, मुग्लिङ–नारायणगढ, चन्द्रागिरि–चित्लाङ हुँदै हेटौँडा पुग्ने सडक खण्ड सञ्चालनमा रहे पनि जोखिम धेरै छ ।
बीपी राजमार्गमा मात्र अहिले झन्डै सात सय वटा गाडी अड्किएकोले ती गाडीलाई सहजै काठमाण्डौ ल्याउनु चुनौतीपूर्ण रहेको व्यवसायीहरू बताउँछन् । बीपी राजमार्ग खुलाउन खुर्कोट र धुलिखेल गरी दुई ठाउँबाट खोला डाइभर्सन बनाउने काम भइरहे पनि त्यो दशैँअघि पूरा हुनेमा सुनिश्चितता नरहेको सडक विभागले जनाएको छ । टिकट काटेका यात्रुलाई गन्तव्यमा पु¥याउने र सडकको अवस्था हेरेर मात्रै थप निर्णय लिने व्यवसायीहरूले बताएका छन् । ००००००
 

प्रतिकृया दिनुहोस