शिवसताक्षीमा चासोक तङ्नाम 

शिवसताक्षी, ३० मंसिर । 
झापाको शिवसताक्षीमा कोशी प्रदेश कै ठूलो चासोक तङ्नाम (न्वागी पर्व) धूमधामसँग मनाइएको छ । लिम्बू समुदायले आफ्नो महान् पर्वका रूपमा यो पर्व मनाएका हुन् । 
किराँत लिम्बू समुदायले विविध मौलिक सांस्कृतिक गतिविधिसहित चासोक तङ्नाम मनाएका छन् । नयाँ अन्नबाली भित्र्याउने र उपभोग गर्न (खान थाल्ने) सुरु गर्ने समयको रूपमा चासोक तङ्नाम मनाएको लिम्बू समुदायले जनाएका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ चाड वा पर्व हुन्छ । 
लिम्बू समुदायले नयाँ बाली भित्र्याएको खुसीयालीमा चासोक तङ्नाम धूमधामसँग मनाएका छन् । झापा शिवसताक्षीको दूधेमा इलाम, पाँचथर, मोरङ्ग, झापा, सुनसरी लगायत जिल्लाबाट चासोक तङ्नाम मनाउन लिम्बु समुदायका मानिसहरु मौलिक भेषभुषासहित आएको आयोजक याक्थुङ चुम्लुङका अध्यक्ष विरबल जवेगुले जानकारी दिनुभयो । चासोकमामा दूधे स्थित नगर स्तरीय रंगशाला भरिभाराउ भएको थियो । 
चासोक तङ्नामको आज संघीय सांसद एलपी साँवा लिम्बुले उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा सांसद साँवाले लिम्बु समुदायको मौलिका पर्वको रुपमा मानिदै  आएको चासोक तङनाम पर्व पहिले घर घरमा मनाउने गरेको बताउनुभयो । आफ्नो भाषा, संस्कृतिको विकास गर्ने क्रममा यसलाई सामाजिकरण गर्दै घर बाहिर सामुहिक रुपमा मनाउन थालिएपछि शिवसताक्षीमा यो पर्व साझा पर्वको रुपमा मनाउन थालिएको उहाँले बताउनुभयो । सबै भाषा, धर्म र संस्कृति मान्ने मानिसहरु पनि चासोक पर्वमा उपस्थित भएर आफ्नो सहभागिता जनाउनु भएको छ । त्यसैले यसलाई साझा पर्वको रुपमा मान्नु पर्छ । 
कार्यक्रममा लिम्बूले समुदायका नागरिकले आफ्नो मौलिक भेषभुषा र पहिरन लगाएर सहभागी भएका थिए भने अन्य समुदायका नागरिक समेत चासोक तङ्नाममा सहभागी थिए । याःलाङ (धान नाच), केःलाङ –च्याब्रुङ नाच), हाक्पारे, ख्याली (मौलिक गीत) जस्ता लिम्बूको संस्कार–संस्कृतिमा आधारित सांस्कृतिक प्रस्तुतिसहित चासोक तङ्नाम मनाएको चासोक पर्व मेला संयोजक अग्नी राईले जानकारी दिनुभयो । 
चासोक तङ्नामकै अवसर पारेर शिवसताक्षी निवासी यसै नगर भित्रबाटै अध्ययन सुरु गरी डाक्टर बन्नु भई देशका विभिन्न स्थानहरुमा स्वास्थ्य सेवा प्रवाह गरिहेका ५ जनालाई सम्मान गरिएको छ । लिम्बु समुदायबाट डाक्टर बन्न सफल डा. दिनेश नाल्बो, डा. मदन नेम्वाङ्ग, डा. शम्भुसेन तुम्बापो, डा. खुस्बु आङ्देम्बे, डा. यागेश चेम्जोङलाई सम्मान गरिएको छ । 
चासोक तङ्नाममा मौलिक खेल धनुषकाड, छेलो लगायतका खेलहरु खेलाइएको छ । 
चासोक तङनाम सहितको मेलामा विभिन्न जातिय भेषभुषा, जातिय खानाको परिकार, लिम्बु जातिको संस्कृति जोडिएका सामग्रीहरुको प्रदर्शन तथा विक्री वितरण गरिएको  थियो । 
चासोकमा राष्ट्रिय कलाकार दिपक लिम्बु, सुनिता थेगिम, सञ्चारकर्मी विश्व लिम्बु, पूर्व मिस नेपाल माल्बिका सुब्बाले आफ्नो कला प्रदर्शन गर्नुभयो । 
कार्यक्रमम शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा, वडाध्यक्ष सन्त फेउदिन, नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवे, नेकपा माओवादी केन्द्रका अध्यक्ष महेन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभयो । ०००००
 

प्रतिकृया दिनुहोस