‘स्टार्टअप’का कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउनुपर्छ : मुख्यमन्त्री सिंह

विर्तामोड, २४ कात्तिक ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले ‘स्टार्टअप’ तथा नवउद्यमीलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारको रहेको जानकारी दिनुभएको छ । 
आज वीरगञ्जमा आयोजित ‘स्टार्टअप तथा नवउद्यमी सम्मेलन, मधेस प्रदेश २०२४’ कार्यक्रममा उहाँले नयाँ सोच र विचारसहित आएका नवउद्यमीलाई प्रोत्साहन गर्ने खालका नीति र कार्यक्रम अघि सारेको बताउनुभयो ।
“नेपालका अधिकांश पुरुष काम वा अध्ययनका क्रममा विदेशमा रहेकाले पनि स्टार्टअपका कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउन जरुरी देखिएको छ”, उहाँले भन्नुभयो, “महिलालाई नवउद्यमशीलतामा अघि बढाउन सकेको खण्डमा सकारात्मक प्रभाव पार्न पनि सकिन्छ ।” मुख्यमन्त्री सिंहले ‘स्टार्टअपमा आधारित व्यवसाय सुरु गर्दा नाफा मात्र नभई घाटा पनि हुने बताउनुभयो । “स्टार्टअप सुरु गर्नेबित्तिकै सफलता हात पार्न सकिन्छ भन्ने हँुदैन”, उहाँले भन्नुभयो, “स्टार्टअप गर्दाका भएका गल्ती र कमजोरीबाट सिकेर अघि बढ्नसके मात्रै अपेक्षाकृत नतिजा हात पार्न सकिन्छ ।”
नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेश स्टार्टअप समिति, मधेस सरकार र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ‘स्टार्टअप तथा नवउद्यमी सम्मेलन, मधेस प्रदेश २०२४ कार्यक्रममा स्टार्टअपसँग सम्बन्धित करिब चार सयभन्दा धेरै सहभागी रहेका छन् । 
मधेस प्रदेश उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ अन्सारीले स्टार्टअप व्यवसायकै माध्यमबाट मधेस प्रदेशको आर्थिक विकास र रोजगारी सिर्जना गर्नसक्ने बताउनुभयो । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्टार्टअपसँगसम्बन्धी नयाँ सोच र भिजन लिएर आउने युवालाई सधैँ प्रोत्साहन गर्ने बताउनुभयो । गुगल इन्डियाका स्टार्टअप प्रमुख अपूर्व चामरियाले स्टार्टअपको मार्केट विश्वव्यापी भएकाले सोहीअनुरुपमा नयाँ सोचको विकास गर्नुपर्ने बताउनुभयो । “जहाँ समस्या हुन्छ । त्यहाँ नयाँ स्टार्टअपको जन्म पनि हुने गर्छ”, उहाँले भन्नुभयो, “समस्या भएको ठाउँमा स्टार्टअपका माध्यमबाट नयाँ विजनेसको सुरुआत पनि गर्न सकिन्छ ।”
नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले मधेस प्रदेशमा स्टार्टअपको विकास गर्नका लागि सम्मेलन आयोजना गरेको बताउनुभयो । “मधेस प्रदेशमा अथाहा सम्भावना रहेका छन् । ती सम्भावनालाई अवसरमा बदल्नका लागि यो कोशेढुङ्गा सावित हुने आशा गरेका छौँ”, उहाँले भन्नुभयो, “स्टार्टअप कार्यक्रमले नयाँ सोच भएका युवा र लगानीकर्ताबीच सेतुको काम गर्ने अपेक्षा राखेका छौँ ।” 
नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेश स्टार्टअप समितिका संयोजक अनुप अग्रवालले राज्यले स्टार्टअपका नयाँ सोच लिएर आएका युवालाई सहुलियत कर्जा र बिनाधितो ऋण प्रवाह गर्ने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो । ००००००
 

प्रतिकृया दिनुहोस