दक्षिण कोरियाली विपक्षी नेता ली निलम्बित
विर्तामोड, ३० कात्तिक ।
दक्षिण कोरियाली अदालतले देशको विपक्षी नेतालाई चुनावी कानुन उल्लङ्घन गरेको आरोपमा आज राजनीतिबाट निलम्बित गरी जेल सजाय सुनाएको छ । यो फैसलाले अर्को राष्ट्रपति निर्वाचनमा भाग लिनबाट उहाँलाई रोक्न सक्छ ।
सियोल केन्द्रीय जिल्ला अदालतले मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीका नेता ली जे–म्युङलाई सार्वजनिक आधिकारिक निर्वाचन ऐनको उल्लङ्घन गर्दै झुटो बयान दिएकोमा दोषी ठहर गरेको हो ।
अदालतले उहाँलाई एक वर्षको जेल सजाय र दुई वर्षका लागि राजनीतिक प्रतिस्पर्धामा सहभागी हुनबाट निलम्बन गरेको अदालतको प्रवक्तालाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
यो मुद्दा सन् २०२२ को चुनावी अभियानमा लीले दिएको बयानसँग सम्बन्धित छ ।
फैसलापछि लीका आक्रोसित समर्थकहरू अदालत बाहिर भेला भई उहाँको पक्षमा नाराबाजी गरेका थिए । नेता लीले फसलालाई कोरियाली इतिहासको कालो दिन मान्ने वाचा गर्दै फैसला स्वीकार गर्न निकै गाह्रो भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो “मलाई विश्वास छ कि हाम्रा जनताले सामान्य ज्ञान र न्यायको भावना प्रयोग गरेर आफ्नै निष्कर्षमा पुग्न सक्छन् ।”
सन् २०२७ मा हुने दक्षिण कोरियाको आगामी राष्ट्रपति चुनावमा लीलाई प्रमुख दावेदारका रूपमा हेरिएको छ । यद्यपि लीले धेरै कानुनी मुद्दाहरूको सामना गर्नुपरेको छ ।
लीले सन् २०२१ डिसेम्बरमा विवादास्पद विकास परियोजनाका प्रमुख व्यक्तित्व किम मुन–कीलाई नचिनेको भनी झूटो बयान दिनुभएको थियो । किम केही दिन अघि मृत फेला पर्नुभएको थियो तर उहाँको मृत्युको बारेमा प्रहरीले प्रमाण फेला नपारेको जनाएको छ । अभियोजकहरूले लीलाई दुई वर्षको जेल सजायको माग गरेका थिए ।
सन् २०२१ मा संसदीय सुनुवाइका क्रममा भूमि, पूर्वाधार र यातायात मन्त्रालयले स्थानीय अधिकारीहरूलाई अर्को विवादास्पद विकास परियोजनाका लागि ‘दबाब’ दिएको भन्दै झूट बोलेको आरोप पनि ली माथि लगाइएको छ ।
फैसला कार्यन्वयन भयो भने, दक्षिण कोरियाली कानूनले लीको संसदीय सीट खारेज गरी अर्को पाँच वर्षसम्म सार्वजनिक पदका लागि प्रतिबन्ध लगाउनेछ । प्रतिवन्धले सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा उहाँलाई उम्मेदवार बन्नबाट रोक लगाउनेछ । ००००
प्रतिकृया दिनुहोस