युक्रेनले रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न अनुमति पाएपछि ठूलो युद्धको डर
विर्तामोड, ३ कात्तिक ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकाले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्न युक्रेनलाई अनुमति दिएपछि ठूलो युद्धको डर बढेको छ । अमेरिकाको यो निर्णयप्रति रुसमा चर्काे आक्रोश व्यक्त भएको छ । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने अझै मौन रहनुभएको बीबीसीले जनाएको छ ।
रुसले युक्रेनलाई रुसभित्र अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएर बाइडेनले आगोमा तेल थप्ने काम गरेको बताएको छ । यदि अमेरिकाले प्रदान गरेको क्षेप्यास्त्र रुसभित्र प्रहार भयो भने रुसले यो आक्रमणलाई युक्रेनबाट नभई अमेरिकाबाट नै भएको रूपमा बुझ्ने क्रेमलिनबाट जारी विज्ञप्तिमा भनिएको खबरमा उल्लेख छ । यदि रुसी मिसाइल आफ्नो भूमिमा प्रहार भएमा नाटो र अमेरिकासँग रुसको सिधा युद्ध हुन सक्ने अनुमान छ ।
दुई महिना मात्रै कार्यकाल बाँकी रहेको बाइडेनको प्रशासनले अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम प्रयोग गर्न अनुमति दिएको हो । लामो दूरीमा मार हान्न सक्ने क्षमता भएका अस्त्रहरू युक्रेनलाई दिन अमेरिकी सेना अनिच्छुक थियो । बाइडनले ती क्षेप्यास्त्र युक्रेनलाई उपलब्ध गराउन गोप्य निर्देशन दिएका विवरणहरू यसअघि सार्वजनिक भएका थिए । तर युद्ध चर्किने सम्भावनालाई ख्याल गरेर प्रयोग अनुमति भने दिएको थिएन । यस्ता अस्त्र यसअघि युक्रेनी भू–भागमा रहेका रुसी सैन्य संरचनामा आक्रमण गर्न मात्रै प्रयोग गर्दै आएको थियो । तर अहिले अनुमति दिनुलाई अमेरिकी नीतिमा ठूलो परिवर्तन मानिएको छ ।
युक्रेनलाई उपलब्ध गराइएको मध्ये सबैभन्दा शक्तिशाली क्षेप्यास्त्रले तीन सय किलोमिटर टाढाको दूरीसम्म प्रहार गर्न सक्छ । अमेरिकासँगै फ्रान्स र बेलायतले पनि आफूले यस अगाडि रुसी भित्री भागमा मार हान्न अनुमति नदिएका मिसाइल प्रयोग गर्न अनुमति दिएका छन् ।
आजै सार्वजनिक भएको एक अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले रुसको आग्रह नटेरी लामो मिसाइल हान्न दिनु भनेको पश्चिमा देश सिधा युद्धमा भाग लिएको मानिने हुनाले रुसले नेटो पोस्टमा आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको छ ।
यसैबीच, नेटोका लागि एक भूतपूर्व अमेरिकी राजदूत कर्ट भोल्करले यस्ता हतियारको प्रयोग गर्न अनुमति दिने निर्णय सार्वजनिक गर्नु अमेरिकाको गल्ती भएको बताउनुभएको छ । ०००००
प्रतिकृया दिनुहोस