उत्तरपश्चिम पाकिस्तानमा एक राजनीतिज्ञको हत्या
विर्तामोड, ३० कात्तिक ।
इस्लामिक स्टेट (आइएस) समूहको क्षेत्रीय शाखाका बन्दुकधारीले उत्तरपश्चिम पाकिस्तानमा एक राजनीतिज्ञको हत्या गरेको प्रहरीले आज बताएको छ ।
इस्लामिक स्टेट (आइएस) समूहले घटनामा आफ्नो सङ्गठनका लडाकूको संलग्नता रहेको दाबी गरेको छ । वरिष्ठ प्रहरी अधिकारी वकार रफिकले एएफपीसँग भन्नुभयो, ‘जमात–ए–इस्लामी बाजौर’ का नेता सुफी हमिद बिहीबार सूर्यास्तपछि नमाज पढेर मस्जिदबाट निस्कँदै गर्दा मोटरसाइकलमा आएका दुई जना नकाबधारी व्यक्तिले उहाँमाथि गोली चलाएका थिए ।
अधिकारीका अनुसार आक्रमणकारीहरूले अफगानिस्तानसँग सीमा जोडिएको बाजौर जिल्लामा इस्लामिक राजनीतिज्ञलाई गोली हानेर भागेका थिए ।
इस्लामिक स्टेट खोरासान (आइएस–के) ले आफ्ना लडाकूले धर्मत्यागी राजनीतिक दलका एक अधिकारीलाई गोली हानेको जनाएको छ ।
आइएस समूहको स्थानीय शाखाले धार्मिक राजनीतिक दलहरूले कडा धार्मिक प्रचारको विरुद्धमा गएको र देशको सरकार र सेनालाई समर्थन गरेको आरोप लगाएको छ ।
आइएस–केले हालै बाजौरमा भएको एक प्रदर्शनमा भएको आत्मघाती बम विस्फोटमा २३ बालबालिकासहित कम्तीमा ५४ जनाको ज्यान जाने गरी भएको आत्मघाती बम विस्फोटसहित राजनीतिक दलविरुद्ध कैयौँ आक्रमण गरेको छ ।
नाम नबताउने शर्तमा एक वरिष्ठ स्थानीय सुरक्षा अधिकारीले एएफपीसँग भन्नुभयो, “यो वर्ष मात्रै बाजौरमा लक्षित आक्रमण र बम विष्फोटमा कम्तीमा ३९ जनाको मृत्यु भएको छ ।”
बाजौरको प्रभाव रहेको खैबर पख्तुनख्वा प्रान्त र दक्षिण पश्चिममा बलुचिस्तान प्रान्तमा सशस्त्र इस्लामवादी वा पृथकतावादी समूहहरूले नियमित रूपमा सुरक्षा बल र राज्यका प्रतिनिधिहरूलाई निशाना बनाइरहेका छन् ।
पाकिस्तानमा सक्रिय तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले बेलाबखत उक्त क्षेत्रमा गर्ने आतङ्ककारी आक्रमणमा हजारौँ मानिसले ज्यान गुमाएका छन् ।
पाकिस्तानमा सन् २०२१ मा तालिवान सत्तामा आए यता अफगानिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आतङ्कवादी आक्रमणमा तीव्र वृद्धि भएको पाकिस्तानी प्रशासनले दावी गर्दै आएको छ । ०००००
प्रतिकृया दिनुहोस