शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरण सुरु
शिवसताक्षी, ७ पुस ।
झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम आजबाट सुरु भएको छ ।
शिवसताक्षी नगरपालिकाको वडा नं. १ को लक्ष्मीनारायण माध्यमिक विद्यालयमा उद्घाटन गरी वडा नं. १ का अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको हो ।
जन्मजात तथा जन्मजात पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनीकरणका लागि गएको आसार १२ गते कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, शिवसताक्षी नगरपालिकामा र करुणा फाउण्डेसन बीच त्रिपक्षीय सम्झौता भएको थियो ।
कार्यक्रमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरण शिविरमा कार्यक्रमको उद्घाटन गर्नुभयो । उहाँले उद्घाटनको क्रममा बोल्दै सरकारले दिएको सेवा सुविधा अपाङ्गता भएका व्यक्तिहरुले पाउन भन्ने उद्देश्यले नै नगरपालिकाले शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।
शिवसताक्षी नगरपालिका भित्रका कोही पनि अपाङ्गता भएका व्यक्तिहरु बन्चित हुनु नपर्ने गरी काम गर्नु पर्ने बताइएको छ । उहाँले नगरका ११ वटै वडामा कार्यक्रम सञ्चालन गरिने भएकाले सबै वडाबासीलाई अपाङ्गता भएका व्यक्तिहरुलाई शिविरमा समावेश गराउने आग्रह गर्नु भएको छ ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका उपप्रमुख तथा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम संयोजक नरमाया कार्कीले शिविरमा अपाङ्गता भएको व्यक्तिहरुको पहिचान गरी कार्ड वितरण गरिने बताउनुभयो । उहाँले शिविरमा खडिएका डाक्टरहरुको टोलीले अपाङ्गगता भएका व्यक्तिहरुको पहिचान उहाँहरुको सिफारिसको आधारमा रातो, निलो, पहेलो र सेतो काड वितरण गरिने जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकार शिवसताक्षी नगरपालिका र करुणा फाउन्डेसनको संयुक्त लगानीमा तीन वर्षसम्म कार्यक्रम सञ्चालन भएको छ । त्रिपक्षीय सम्झौता अनुसार अपाङ्गगता भएका व्यक्तिहरुको पहिचान र न्युनीकरण सम्बन्धी कार्यक्रमहरु २०८४ असार मसान्तसम्म चल्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । ००००००
प्रतिकृया दिनुहोस