नेकपा एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
विर्तामोड, १० पुस ।
नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । आज बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको हो ।
‘कमरेड भीम रावल महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुनुभयो, उपाध्यक्षका निम्ति आग्रह गरिएको कुरालाई मान्नुभएन । त्यसपछि केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि हाम्रो वैधानिक व्यवस्था अनुसार सल्लाहकारमा रहनुभयो,’ नेता ज्ञवालीले भन्नुभयो, ‘त्यो सल्लाहकारको जिम्मेवारी पनि पुरा गर्नुभएन । र, अभिव्यक्तिहरू चाहिँ पार्टी बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको छ ।’
रावलले पछिल्लोपटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयप्रति विरोध जनाउनुभएको थियो । यसपछि गत ४ कात्तिकमा एमालेले रावल सहित स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो ।
पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाए पनि रावलले कुनै जवाफ दिनुभएको थिएन् । सचिवालय बैठकले स्पष्टिकरण पत्र लेख्ने पाण्डे र तिमल्सेनालाई पनि ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय एमालेले गरेको छ ।
‘स्पष्टीकरण उहाँहरुले दिनु त भयो, तर उहाँहरुले रियलाइज गरेको, यसरी पार्टीको विधि भन्दा बाहिर गएर सार्वजनिक रुपमा बोल्नु उचित भएन भन्ने कुराको रियलाइजेसन देखिएन,’ नेता ज्ञवालीले भन्नुभयो, ‘त्यसो भएको हुनाले उहाँहरुलाई पार्टीको निर्देशनमा चल्न थप निर्देशन गर्दै उहाँहरुको जिम्मेवारीबाट ६ महिना मुक्त गर्ने निर्णय गरिएको छ ।’
यसैबीच, नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी पुसको २१ र २२ गते बस्नेगरी बैठक बोलाइएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
आज बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा केन्द्रीय समितिका एजेन्डाहरूबारे पनि संक्षिप्त छलफल भएको छ । ००००००
प्रतिकृया दिनुहोस