बिर्तामोड ३ मा ट्राफिक सचेतना 

विर्तामोड, १० पुस ।
झापाको बिर्तामोडमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । पूर्वेली यातायात मजदुर प्रालिको आयोजना र बन्दगी युवा परिवारको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 
एक दिवसिय कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय झापाको समन्वय रहेको थियो । पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको गुनासो आउने गरेकाले त्यसको न्युनिकरणमा सहयोग पुगोस भनेर यो कार्यक्रमको आयोजना गरिएको पूर्वेली यातायात मजदुर प्रालिका सचिव गणेश कोइरालाले बताउनुभयो । 
कार्यक्रममा ट्राफिक सचेतनाको बिषयमा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गणेश पौडेलले विभिन्न कारणले सवारी दुर्घटना हुने गरेको बताउनुभयो । उहाँले केही दुर्घटना आफैँले हतार गर्दा र लापरवाही गर्दा हुने गरेको बताउनुभयो । सडकको संरचना हेर्दै होसियारी पुर्वक सवारी साधन प्रयोग गरेमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिनेमा उहाँले जोड दिनु भयो । 
कार्यक्रममा बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीले एक मजदुरको दुर्घटनामा परी अगंभङ्ग भएमा वा ज्यान गएमा परिवार नै संकटमा पर्ने गरेकोले सवारी दुर्घटनालाई न्युनीकारण गरिनु पर्नेमा जोड दिनुभयो । 
पूर्वेली यातायात प्रालिका अध्यक्ष हरिप्रसाद बाँस्कोटाको अध्यक्षता रहेको कार्यक्रममा बन्दगी युवा परिवारका अध्यक्ष धनसिंह राजबंशी, नेकपा (एमाले) बिर्तामोडका सचिवालय सदस्य कुमार बुढाथोकी, लेखा कमिटी उपाध्यक्ष दिनेश अधिकारी, वाड नम्बर ३ का पार्टी अध्यक्ष कोसिस घिमिरे, उपसचिव कृष्ण बाह्रकोटी लगायतको उपस्थिति थियो भने कार्यक्रमको संचालन नवीनकिशोर बिमलीले गर्नु भएको थियो । ००००००
 

प्रतिकृया दिनुहोस