प्रथम झापा कप २०८१को उपाधि चर्च ब्वाइजलाई
बिर्तामोड, ८ पुस ।
प्रथम झापा कप २०८१ को पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ ।
उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो ।
चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटीले ३–० गोलअन्तरले पराजित गरेको थियो ।
गत वर्ष यही रंगशालामा आयोजित झापा गोल्डकपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हात पारेको थियो ।
आजको खेलको प्लेयर अफ द म्याच विजेता टिम चर्च ब्वाइजका समिर तामाङ भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रुपमा छनोट भएका झापा–११ का प्रदिप बुढाथोकीले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाए ।
मस्ट भ्यालुएबल प्लेयर चर्च ब्वाइजका रोहण कार्की भए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए ।
यसैबीच, झापा ११ एफसीका व्यवस्थापक गोपाल राईलाई क्लबले नगद २५ हजारसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।
विजेता तथा उपविजेतालाई प्रमुख अतिथि संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, गोर्खा टि इस्टेटका सञ्चालक उदय चापागाईं, आयोजक झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका पूर्वअध्यक्ष टिकाराज ढकाल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव जीवनकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । ०००००००००
प्रतिकृया दिनुहोस