गाजाबाट थप ३ जना बन्धक मुक्त

विर्तामोड, १९ माघ ।
प्यालेस्टिनी विद्रोही समूह हमासले तीन जना इजरायली बन्धकलाई मुक्त गरेको छ । हमासले ३४ वर्षका यार्देन बिवास, ५३ वर्षका ओफर काल्दरोन र ६५ वर्षका किथ सिगललाई मुक्त गरेको बीबीसीले जनाएको छ ।
उनीहरू जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता चौथो चरणमा छाडिने बन्धक हुन् । युद्धविराम सम्झौता अनुसार तीन जनाको बदलामा इजरायलले एक सय ८० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीलाई छाड्दैछ ।
युद्धविराम तथा बन्धक रिहाइ सम्झौताअनुसार झन्डै ६ हप्ता लामो पहिलो चरणको युद्धविराममा हमासले ३३ जना इजरायली बन्धकलाई छाड्नेछ । त्यसको बदलामा इजरायली जेलमा रहेका झन्डै एक हजार नौ सय जना प्यालेस्टिनी बन्दी रिहा हुनेछन् । दोस्रो चरणमा बाँकी बन्धकहरू रिहा हुनुका साथै गाजाबाट पूर्णरूपमा इजरायली फौज फिर्ता हुनेछन् । तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने र त्यसका लागि वर्षाैं लाग्नसक्ने सम्झौतामा उल्लेख छ ।
हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायभित्र प्रवेश गरेर आक्रमण गर्दा झन्डै १२ सय जनाको ज्यान गएको थियो । त्यसक्रममा दुई सय ५१ जना अपहरणमा परेका थिए । इजरायलले गाजामा चलाएको जवाफी कारवाहीमा झण्डै ४७ हजार जनाको ज्यान गएको छ । गाजाका २३ लाख जनसङ्ख्यामध्ये धेरैजसो विस्थापित भएका छन् । ०००००
प्रतिकृया दिनुहोस