२७ वर्षपछि दिल्लीमा भाजपाको सरकार बन्ने

विर्तामोड, २६ माघ ।

२७ वर्षपछि दिल्लीमा फेरि भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने देखिएको छ । भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा २ सिट जितिसकेको छ र ४६ सिटमा अग्रता लिएको छ, जसको कुल संख्या ४८ छ ।
आम आदमी पार्टी (आप) ले पनि २ सिट जितेको छ भने २० सिटमा अग्रता लिएको छ, जसको कुल संख्या २२ पुगेको छ । कांग्रेसले कुनै सिट जित्न सकेको छैन ।
यो नतिजाले ठूलो राजनीतिक परिवर्तन देखाएको छ । आपका नेता अरविन्द केजरीवाल नयाँ दिल्लीबाट पराजित भएका छन् भने मनीष सिसोदिया पनि जंगपुरामा पराजित भएका छन् ।
तर, मुख्यमन्त्री आतिशी कालकाजीबाट विजयी भएका छन् । अर्का नेता सत्येन्द्र जैनले पनि चुनाव हारेका छन् ।
यसैबीच, केजरीवाललाई हराउने भाजपा उम्मेदवार प्रवेश वर्मा अमित शाहलाई भेट्न पुगेका छन् ।
दिल्लीमा भाजपा मुख्यालयमा विजयोत्सव मनाइरहेको भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । सन् २०२० मा भाजपाले जम्मा ८ सिट मात्र जितेको थियो, तर सन् २०२५ मा ६ गुणा बढी जित निकाल्दै ४८ सिट जित्नेतर्फ अगाडि बढेको छ ।
केजरीवालको नयाँ दिल्ली सिटमा २० जना उम्मेदवारको जमानत जफत भएको छ । उनीहरूले अत्यन्तै कम मत प्राप्त गरेका छन् ।
केजरीवाल प्रवेशबर्मासँग ३ हजार मतले पराजित भएका छन् । उता संदीप दीक्षितले केवल ३ हजार ८७३ भोट मात्र पाए । सन् २०२० को तुलनामा भाजपाले ३९ सिट थप्ने देखिएको छ आपले ३९ सिट गुमाउने सम्भावना देखिएको छ । भाजपाको भोट शेयर ९ प्रतिशतले बढेको छ भने आपको भोट शेयर १० प्रतिशतले घटेको छ । कांग्रेसले कुनै सिट जित्न नसके पनि भोट शेयर २ प्रतिशतले बढाएको छ । ००००००
 

प्रतिकृया दिनुहोस