फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, १ चैत ।
ताप्लेजुङ जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा १३ लाख तीन हजार पाँच सय रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता अनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको सङ्ख्या सात हजार चार सय २८ रहेको समेत समितिले जनाएको छ । उक्त सङ्ख्या साविकको तुलनामा न्यून छ । गत वर्षको फागुनमा १७ हजार नौ सय १२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । यस्तै सो समयमा ५५ लाख ७० हजार आठ सय ८० रुपैयाँ भेटी रकम जम्मा भएको थियो ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पाथीभरा मन्दिरमा दर्शनार्थीको सङ्ख्या घट्नुको प्रमुख कारण हाल चर्चामा रहेको केबलकार निर्माणसम्बन्धी विवाद रहेको छ । केबलकारका सम्बन्धमा उत्पन्न विवादका कारण भएको बन्द लगायत कारण यो वर्ष सङ्ख्या घटेको उहाँले बताउनुभयो ।
धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाथीभरा मन्दिरमा विशेषगरी चैतेदसैँ, रामनवमी, बडादसैँ, तिहार लगायत चाडपर्वमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लाग्ने गर्छ । स्वदेशी तथा विदेशी गरी वार्षिक तीन लाखको हाराहारीमा दर्शनार्थी आउने गरेको समितिले जनाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस