५० वर्ष मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति दिइने 

विर्तामोड, १२ चैत ।
हत्याको आरोपबाट मुक्त हुनुभन्दा पहिले झन्डै ५० वर्ष मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई २ सय १७ मिलियन येन अर्थात् १४ लाख डलर क्षतिपूर्ति दिइने भएको छ । फौजदारी मुद्दामा यो क्षतिपूर्ति देशकै ठूलो भुक्तानी भएको वकिलहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
८९ वर्षीय इवाओ हाकामातालाई सन् १९६८ मा आफ्नो मालिक, मालिककी श्रीमती र उनीहरूका दुई जना बालबालिकाको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो । तर, गएको वर्ष मुद्दाको पुनः सुनुवाइमा उहाँ निर्दाेष ठहर हुनुभएको थियो ।
हाकामाताका वकिलहरूले सम्भव भएसम्म उच्चतम क्षतिपूर्तिको माग गरेका थिए । ४७ वर्षको हिरासतका क्रममा उहाँको मानसिक स्वास्थ्यमा असर पारेको वकिलहरूले तर्क गरेका थिए । जापानी सरकारले हाकामाताको आर्थिक क्षतिपूर्ति तिर्ने खबरमा उल्लेख छ ।
हाकामादा जापानको युद्धोपरान्त इतिहासमा मृत्युदण्डबाट पुनरावलोकन गरिएका पाँचौं कैदी हुनुहुन्थ्यो । अघिल्ला सबै चार वटा मामिला पनि निर्दाेष ठहरिएका थिए ।
हाकामादाले ‘बयान (स्वीकारोक्ति) का लागि जबरजस्ती गर्ने अमानवीय अनुसन्धान’ भोग्नुभएको थियो । यसलाई उहाँले पछि फिर्ता लिनुभएको अदालतले बताएको छ ।
यो मुद्दाले जापानको न्याय प्रणालीमाथि प्रश्न उठाएको छ, जसमा पुनः मुद्दा चलाउन लाग्ने समय र जबरजस्ती स्वीकारोक्तिको आरोप पनि समावेश छ । ०००००
 

प्रतिकृया दिनुहोस