१९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालको लगातार दोस्रो जीत

विर्तामोड, १ वैशाख ।
आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । माथिल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हराएको हो ।
ओमानले दिएको १ सय १८ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १४ ओभर ३ बलमै भेटायो । नेपालका निरजकुमार यादवले ४६, शाहिल पटेलले ४२ रन बनाए । ओमानका सौम्य भविन सम्पतले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा १ सय १७ रन बनाउँदा सबै विकेट गुमायो । ओमानका जीत व्रजेश शाहले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका युवराज खत्रीले ५ विकेट लिए । नेपालले पहिलो खेलमा हिजो यूएईलाई डीएसएल मेथडका आधारमा ५ रनले हराएको थियो ।
यस्तै आज नै तल्लो मूलपानी मैदानमा भएको खेलमा अफगानिस्तानले हङकङलाई ८ विकेटले हराएको छ । अफगानिस्तानले पहिलो खेलमा ओमानलाई पनि ८ विकेटले हराएको थियो ।
एशिया छनोटमा नेपाल, ओमानसहित यूएई, अफगानिस्तान र हङकङ सहभागी छन् । छनोटमा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा भइरहेका छन् । ०००००
 

प्रतिकृया दिनुहोस