भारत–पाकिस्तान सीमामा दोस्रो दिन पनि गोली हानाहान जारी

विर्तामोड, १३ बैशाख ।
भारत र पाकिस्तानका सेनाहरुबीच सीमा क्षेत्रमा आज दोस्रो दिन पनि गोली हानाहान भइरहेको छ । जम्मूकश्मिरमा २६ जनाको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणमा पाकिस्तानको भूमीका रहेको भन्दै भारतले प्रतिबन्ध र कारवाही थालेपछि सीमा क्षेत्रमा शुक्रबारदेखि गोली हानाहान शुरु भएको हो ।
दुई सेनाबीच बितेको रातभरि पनि गोली हानाहान भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ज्यान गएको विवरण दुवै तर्फबाट सार्वजनिक भएको छैन । पाकिस्तानले मङ्कलवारको आतङ्ककारी आक्रमणमा आफ्नो भूमीका नरहेको दाबी गर्दै आएको छ । २६ जनाको हत्या भएको आक्रमणको जिम्मा द रेसिस्टेन्ट फ्रन्ट (टिआरएफ)ले लिएको छ ।
टिआरएफलाई पाकिस्तानको सैन्य र गुप्तचर निकायले समर्थन गरेको भारतको आरोप छ । भारत–पाकिस्तानबीच बढ्दो तनावबीच संयुक्त राष्ट्रसंघले दुवै देशलाई अधिकतम संयम अपनाउन र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।
यसैबीच पाकिस्तानले आफ्नो आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध लगाएको छ । भारतले सिन्धु जलसम्झौता निलम्बनको निर्णय गरेपछि भारतले आकाशमा प्रतिबन्ध लगाएको हो । पाकिस्तानको प्रतिबन्धले भारतको ठूला एयरलाइन्सहरू एयर इन्डिया र इन्डिगो प्रभावित भएका छन् । पाकिस्तानले आफ्नो आकाश प्रयोग गर्न नदिएपछि जहाजका अन्तर्राष्ट्रिय उडानहरू अब लामो दूरी भएर जानुपर्ने भएको छ । जसले विमानको खर्च बढ्ने र उडान समय लम्बिने भएको छ । ०००००
प्रतिकृया दिनुहोस