सञ्चारमाध्यमले नेपाली भाषाको उचाइ घटाएको भन्दै प्रधानमन्त्रीद्वारा असन्तुष्टि व्यक्त 

बिर्तामोड, २४ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले नेपाली भाषाको उचाइ घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । गोरखापत्र दैनिकको १२५औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
पहिले राजालाई उच्च आदरार्थी भाषा प्रयोग गर्ने सञ्चारमाध्यमहरूले नागरिकका छोराछोरीलाई किन मान्ने भन्ने सोच लिएका ओलीले आरोप लगाउनुभयो । अङ्ग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउन उहाँको आग्रह छ ।
नेपाली संस्कार र संस्कृतिअनुसार सम्मानको भाषा बोल्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले हजुरबुबा र नातिका लागि एउटै भाषा प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ । राजा हुँदा हिँड्दैनथे, सवारी हुन्थ्यो । खाँदैनथे ज्यूनार हुन्थ्यो । बस्दैनथे, आराम गर्थे । सुन्दैनथे श्रवण हुन्थ्यो । राजतन्त्र फाल्यौँ भनेपछि जनताको छोराछोरी किन मान्ने ? यिनलाई सम्मान किन गर्ने ? यू भनेपछि हजुरबुबा पनि भयो नाति पनि भयो । जो भाषामा गरिब छ त्यसले हाम्रो भाषामा उचाइ छुन सकेन भनेर हामीले कद घटाउने भाषाको ?’
प्रधानमन्त्री ओलीले नेपाली भाषामा भएको समृद्धि अरू भाषामा नभएको बताउनुभयो ।  
यस्तै प्रधानमन्त्री ओलीले आज गोरखापत्र ब्रह्मले देखेको लेख्न स्वतन्त्र रहेको बताउनुभएको छ । हिजो राणा र राजाको शासनमा राज्यको इसारामा चल्नुपर्ने बाध्यता बोकेका गोरखापत्रका सम्पादक आज लेख्नका लागि स्वतन्त्र रहेको उल्लेख गर्नुभएको हो । 
‘‘गोरखापत्रले धेरै उतारचढाब देखेको छ । यसलाई झेलेको छ । कत्ति गाह्रो थियो होला सम्पादकीय लेख्न ? आज तपाईं के सम्पादकीय लेख्नुहुन्छ ? कहिल्यै सरकारबाट दबाब हुँदैन । प्रधानमन्त्रीबाट दबाब र नियन्त्रण केही छैन । आज तपाईंहरू आफ्नो ब्रह्मले देखेको जे सुकै लेख्न स्वतन्त्र हुनुहुन्छ ।’
गोरखापत्रको १२५ औं वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुँदै गोरखापत्र, गोरखापत्र परिवार, गोरखापत्रका पाठक र अध्ययता सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । 
उहाँले अब प्रविधिले फड्को मारेको र डिजिटल युगमा एआईको प्रयोग गरेर छिटो काम गर्न सकिने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले एकसाथ परिवर्तन नभए पनि गोरखापत्रमा विस्तारै परिवर्तन भइरहेको बताउनुभयो ।  
१०४ वर्षको उथलपुथल, राज र राणाको पारिवारिक द्वन्द्व स्वार्थलाई देखेको गोखापत्रले आजको परिवर्तनलाई अङ्गिकार गर्नुपर्नेमा उहाँको जोड छ । 
उहाँले पञ्चायतमा राणा शासनलाई जहानियाँ भन्दा राजतन्त्रलाई किन नभन्ने भन्ने विषय आएको उल्लेख गर्नुभयो । उहाँले गोरखापत्रले राजनीतिक परिवर्तन र निर्ममतासँगै योद्धाले आवाज उठाउँदा बिना कारण दुःख दिएको कुरा उठाएको सम्झना गर्नुभयो । 
प्रधानमन्त्री ओलीले गोरखापत्रको वार्षिकोत्सवको अवसरमा देशको राजनीतिक परिवर्तनका लागि सङ्घर्ष गर्ने योद्धाकोसमेत सम्झना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज आफूले भन्दै आएको ‘समृद्ध नेपाल सुखी नेपाली’को विषय गोरखापत्रले १२४ वर्ष अगाडि लेखेको उल्लेख गर्नुभयो । ०००००००

प्रतिकृया दिनुहोस