विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा 

बिर्तामोड, २९ वैशाख ।
भारतका स्टार ब्याटर क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गर्नु भएको छ । ३६ वर्षीय कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत यो निर्णय सार्वजनिक गर्नु भएको हो ।
कोहलीले आफ्नो टेस्ट करिअरमा १२३ खेल खेलेर ४६ दशमलव ८५ को औसतमा ३० शतक र ३१ अर्धशतकसहित ९ हजार २ सय ३० रन बनाउनुभएको छ ।
गएको हप्ता कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेपछि कोहलीको निर्णयलाई भारतीय क्रिकेटमा ठूलो रूपान्तरणको संकेतका रूपमा हेरिएको छ ।
सन् २०११ मा टेस्ट डेब्यु गर्नु भएका कोहलीले ६८ टेस्टमा टिमको कप्तानी गर्नु भएको थियो । त्यसमध्ये ४० मा भारतले जीत हात पार्दा १७ मा हार र ११ खेल बराबरीमा सकिएका थिए । सन् २०१६ देखि २०१८ को समयलाई कोहलीको स्वर्णिम युग मानिन्छ । यस अवधिमा उहाँले ३५ टेस्ट खेलमा ६६ दशमलव ५९ को औसतमा ३ हजार ५ सय ९६ रन बनाउनुभएको थियो, जसमा १४ शतक र आठ अर्धशतक समावेश थिए ।
कोहली यसअघि नै टी–२० क्रिकेटबाट सन्न्यास लिइसक्नुभएको छ । अब उहाँले भारतका लागि एकदिवसीय क्रिकेटमै आफ्नो ध्यान केन्द्रित गर्ने जनाउनुभएको छ । ००००००
 

प्रतिकृया दिनुहोस