चिया निर्यात ४६ प्रतिशतले वृद्धि

भद्रपुर (झापा), ७ जेठ ।
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ । कार्यालयको तथ्याङ्क अनुसार तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । 
चालु आर्थिक वर्षको १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी इश्वरकुमार हुमागाइँले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिमा दुई अर्ब ५२ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । 
कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म अलैँची निर्यात ३.६० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दश महिनामा ६ अर्ब ६६ करोड २५ लाख ४५ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । गत आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिमा ६ अर्ब ९० करोड ९४ लाख ४८ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो । 
भेनीयर सिट ७९ प्रतिशत, फलामे पाता ७.७०, सिआरसिट ६२.२० प्रतिशत र मोलासिस निर्यातमा ८४४.३० प्रतिशतले वृद्धि भएको छ । यसैगरी सिमेन्ट क्लिङ्कर ३.९० प्रतिशत, छुर्पी १६.२० प्रतिशत, अदुवा ५९.४० प्रतिशत, अम्रिसो निर्यातमा १३ प्रतिशतले कमी आएको छ  ।
मेची भन्सारबाट चालु आर्थिक वर्षको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ । ०००००
 

प्रतिकृया दिनुहोस