थाइल्याण्डको जेलमा रहेका वकिल अन्तर्राष्ट्रिय अधिकार पुरस्कारबाट सम्मानित

काठमाडौँ, ९ जेठ ।
राजतन्त्रको आलोचना गरेको आरोपमा जेल परेका थाइल्यान्डका एक वकिल अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कारबाट सम्मानित हुनुभएको छ । अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक सुधारका लागि गरेको प्रयासको कदरस्वरूप अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कारबाट सम्मानित हुनुभएको हो ।
यस वर्ष जोखिममा रहेका मानव अधिकार रक्षकहरूका लागि ‘फ्रन्टलाइन डिफेन्डर्स पुरस्कार’ एसिया–प्यासिफिक क्षेत्रका ४० वर्षीय अर्नोन नाम्पालाई दिने निर्णय गरिएको पुरस्कार निर्णायक समितिले जनाएको छ ।
थाइल्याण्डको कडा लेसे–माजेस्टे कानूनअन्तर्गत राजसंस्थाको आलोचना र अन्य अपराधमा दोषी ठहर भएपछि उहाँलाई २२ वर्षको जेल सजाय भएको र यसका लागि जेल जीवन बिताइरहनुभएको छ ।
‘थाई लयर्स फर ह्युमन राइट्स (टीएलएचआर)’ ले एक विज्ञप्ति जारी गर्दै अर्नोनले आफ्नो व्यक्तिगत सुरक्षाका लागि खतरा र गम्भीर जोखिमको सामना गर्नुपरे पनि मानव अधिकारको प्रवद्र्धन र संरक्षणमा खेलेको भूमिकाका लागि उहाँलाई सम्मान गरिएको जनाएको छ ।
आयरल्याण्डस्थित सङ्गठनले हरेक वर्ष प्रदान गर्दै आएको ‘फ्रन्ट लाइन डिफेन्डर्स अवार्ड’ले खतरामा परेका विश्वभरका अभियन्ताहरूको कामलाई उजागर गर्दछ ।
डब्लिनमा आयोजित पुरस्कार समारोहमा आफ्नो परिवारका एक सदस्यले पढेर सुनाएको पत्रमा अर्नोनले यसलाई ‘गहिरो सम्मान’ भन्नुभएको छ । उहाँले पुरस्काले आफुलाई ‘भविष्यको बाटोको लागि शक्ति’ प्रदान गरेको बताउनुभयो ।
उहाँले आफ्नो अभियान थाइल्याण्डको राजनीतिक दमनलाई असहमतिको दमनद्वारा चिह्नित ‘पुरानो व्यवस्था’ विरुद्धको एक पुस्तागत लडाईको रूपमा वर्णन गर्नुभयो । सन् २०२० मा थाइल्याण्डमा भएको युवा नेतृत्वको प्रजातन्त्र समर्थक प्रदर्शनका क्रममा अर्नोनले सार्वजनिक रूपमा राजसंस्था र सेनासमर्थित सरकारको सुधारका लागि आह्वान गर्नुभएको थियो ।
उहाँ निषेधित भाषण र अनलाइन पोस्टहरूका लागि दण्ड संहिता (लेस माजेस्टे) को धारा ११२ अन्तर्गत दोषी ठहराइनुभएको छ । यो धाराले प्रत्येक अपराधमा कम्तीमा १५ वर्षसम्मको जेल सजायको व्यवस्था गर्दछ ।
टीएलएचआरका अनुसार उहाँको कुल जेल सजाय अहिले २२ वर्षको छ र उहाँ सेप्टेम्बर २०२३ देखि जेलजीवन बिताइरहनुभएको छ ।
सन् २०२४ मा मात्रै उहाँले कम्तीमा ४१ वटा जमानतका लागि निवेदन दिनुभएको थियो । एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचलगायतका अधिकारवादी समूहले अर्नोनलाई थुनामा राखिएको घटनाको निन्दा गर्दै उहाँको रिहाइको माग गरेका छन् । ०००००
प्रतिकृया दिनुहोस