श्रम संस्कृति पार्टी प्रवेश गरेपछि एमालेको कारबाही


भोजपुर, ९ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोजपुर जिल्ला कमिटीले भोजपुर नगरपालिकाकी उपमेयर, एक वडाध्यक्षसहित केही नेता–कार्यकर्तामाथि पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको छ ।
जिल्ला अध्यक्ष मकरबहादुर खड्काद्वारा जारी विज्ञप्ति अनुसार भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न तथा उपमेयर पदबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाउन एमाले कोशी प्रदेश कमिटीसमक्ष सिफारिस गरिएको छ ।
त्यसैगरी, जिल्ला कमिटी सचिवालय सदस्य तथा भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको छ । उनलाई वडाध्यक्ष पदबाट हटाउन आवश्यक कानुनी प्रक्रिया पनि अघि बढाइएको एमाले भोजपुरले जनाएको छ ।
एमालेले विमल रणपहेली, सुमन प्रधान, रेनुका भुजेल, कोपिला राई, बाबुराम तामाङ र दिपेन दर्नाललाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।
पार्टीविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, जनप्रतिनिधिको पदको दुरुपयोग गरेको तथा अन्य राजनीतिक दलमा प्रवेश गराउन सक्रिय भूमिका खेलेको आरोपमा कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कारबाहीमा परेका उपमेयर शेर्पा, वडाध्यक्ष प्रधान लगायतका नेताहरू शुक्रबार भोजपुरमा आयोजित कार्यक्रममा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए । पार्टी अध्यक्ष हर्कराज साम्पाङ र भोजपुरका प्रतिनिधिसभा सदस्य ध्रुव राईको उपस्थितिमा उनीहरूले श्रम संस्कृति पार्टीको सदस्यता ग्रहण गरेका थिए ।
यो घटनासँगै भोजपुरको स्थानीय राजनीतिमा नयाँ बहस सुरु भएको छ भने एमालेले पार्टी अनुशासनविपरीत गतिविधि गर्ने जो–कोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ । ०००००

प्रतिकृया दिनुहोस