आत्मनिर्भर अर्थतन्त्रको बलियो आधार घरेलु तथा साना उद्योग
काठमाडौँ, ५ साउन ।
नेपालको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा घरेलु तथा साना उद्योगलाई प्रमुख आधारका रूपमा लिइएको छ । स्थानीय स्रोत–साधन, परम्परागत सीप र सीमित लगानीमा सञ्चालन हुने यस्ता उद्योगले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, महिला सशक्तीकरण, ग्रामीण अर्थतन्त्र सुदृढीकरण तथा निर्यातमार्फत विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् ।
नेपालमा करिब सात लाख घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको नेपाल घरेलु तथा साना उद्योग महासङ्का अध्यक्ष शोभा गुरुङले बताउनुभएको छ । ती उद्योगबाट झण्डै ३० लाख जनाले रोजगारी पाएका छन् भने हस्तकला क्षेत्रमा मात्रै १० लाखभन्दा बढी व्यक्ति आबद्ध छन् । उद्योगमध्ये करिब ३० प्रतिशत महिला नेतृत्वमा सञ्चालन भइरहेका छन् । ढाका, हस्तकला, अल्लो, जडीबुटी, खाद्य प्रशोधन, दुग्धजन्य पदार्थ, काठ तथा धातुकलासहित कृषि प्रशोधन र सूचना प्रविधिमा आधारित उद्योगको विस्तार पनि बढ्दै गएको छ ।
यद्यपि, पर्याप्त पुँजीको अभाव, सहुलियतपूर्ण कर्जामा कठिन पहुँच, आधुनिक प्रविधिको कमी, आयातित वस्तुसँगको असमान प्रतिस्पर्धा, बजार व्यवस्थापनको कमजोरी, नीतिगत अस्थिरता र प्रशासनिक झन्झटका कारण यस क्षेत्रले अपेक्षित गति लिन नसकेको सरोकारवालाको भनाइ छ । दक्ष जनशक्तिको अभाव, कोभिड–१९ महामारीको प्रभाव तथा स्वदेशी वस्तु खरिदसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा उद्योग थप दबाबमा परेको नेपाल घरेलु तथा साना उद्योग महासङ्का अध्यक्ष शोभा गुरुङले बताउनुुभयो ।
सरकारले उद्योगमैत्री नीति, कर सहुलियत, सहुलियतपूर्ण कर्जा, आधुनिक प्रविधि, सीप विकास र सहज प्रशासनिक व्यवस्था लागू गर्नुपर्ने तथा निजी क्षेत्र र वित्तीय संस्थाले बजार विस्तार र लगानीमा सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । साथै, उपभोक्ताले स्वदेशी उत्पादनलाई प्राथमिकता दिए घरेलु तथा साना उद्योगको प्रवद्र्धन भई आत्मनिर्भर अर्थतन्त्र निर्माण, रोजगारी वृद्धि र आयातमा निर्भरता घटाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । ०००००











प्रतिकृया दिनुहोस