विश्वकपका हिरो भोजिन्हालाई कोलो कोलोको अनुबन्ध
विर्तामोड, १० साउन ।
फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका केप भर्डका अनुभवी गोलकिपर भोजिन्हा चिलीको शीर्ष डिभिजन क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन् ।
४० वर्षीय भोजिन्हा पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएपछि कुनै पनि क्लबविना विश्वकप खेल्न पुगेका थिए । तर, विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनले उनी सबैको ध्यान तान्न सफल भए ।
विशेषगरी विश्वकप विजेता स्पेनविरुद्धको गोलरहित बराबरीमा भोजिन्हाले उत्कृष्ट गोलकिपिङ गर्दै केप भर्डलाई पहिलो पटक विश्वकपमा अंक दिलाएका थिए । त्यसयता उनी समर्थकमाझ ‘कल्ट हिरो’का रूपमा चर्चित बनेका छन् भने सामाजिक सञ्जालमा पनि उनका लाखौँ नयाँ समर्थक थपिएका छन् ।
कोलो कोलोका अध्यक्ष अनिबाल मोसाले भोजिन्हा क्लबमा आबद्ध हुने पुष्टि गर्दै केही दिनभित्र उनी चिली पुग्ने र स्वास्थ्य परीक्षणपछि औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी दिएका छन् । विश्वकपमा देखाएको प्रदर्शनकै आधारमा उनले यो अवसर पाएको र उनको आगमनले क्लबलाई खेलकुदसँगै बजार प्रवद्र्धनमा पनि फाइदा पुग्ने विश्वास मोसाले व्यक्त गरेका छन् ।
चिलीको राजधानी सान्टियागोस्थित कोलो कोलो हाल देशको शीर्ष लिग ‘लिगा डे प्रिमेरा’को शीर्ष स्थानमा रहेको छ । यद्यपि, भोजिन्हाको स्थानान्तरण प्रक्रिया भने औपचारिक रूपमा अझै पूरा हुन बाँकी छ ।
विश्वकपमा केप भर्डले अन्तिम ३२ मा अर्जेन्टिनालाई अतिरिक्त समयसम्म कडा चुनौती दिएको थियो । तर, अतिरिक्त समयमा ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । भोजिन्हाले यसअघि स्लोभाकिया, अंगोला, मोल्डोभा, साइप्रस र पोर्चुगलका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन् । ०००००



..jpeg)







प्रतिकृया दिनुहोस