आइपीओ प्रस्ताव गर्ने कम्पनी बढे पनि लाभांश दिने घटेको तथ्यांक
विर्तामोड, १० साउन ।
प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) ल्याउने कम्पनीको संख्या निरन्तर बढिरहेको भए पनि अधिकांश कम्पनीको लाभांश वितरण क्षमता भने कमजोर देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा आइपीओ प्रस्ताव अनुमोदन गराएका १५० कम्पनीमध्ये जम्मा २१ कम्पनीले मात्रै सेयरधनीलाई लाभांश वितरण गरेका छन् ।
नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो आठ दिनमै ह्याम्स हस्पिटल, जेमिनी रिसाइकल, ग्रिनप्लाइ नेपाल र मकालु वाइन इन्डस्ट्रिजले आइपीओ प्रस्तावसहित साधारण तथा विशेष साधारण सभा आह्वान गरेका छन् । हाल नेपाल धितोपत्र बोर्डमा १०० भन्दा बढी कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन् भने अन्य कम्पनी पनि तयारीमा छन् ।
गत वर्ष आइपीओ प्रस्ताव गरेका कम्पनीमध्ये करिब १४ प्रतिशतले मात्रै लाभांश घोषणा गरेका छन् । यद्यपि आइपीओ जारी गर्न लाभांश वितरण अनिवार्य नभए पनि कम्पनीको नाफा, वित्तीय अवस्था र प्रतिफल वितरण क्षमता लगानीकर्ताका लागि महत्वपूर्ण आधार मानिन्छ ।
सेयर बजारका जानकारहरूले कमजोर वित्तीय अवस्था भएका कम्पनीको संख्या बढ्दै जाँदा पुँजी बजारको गुणस्तर र लगानीकर्ताको विश्वासमा असर पर्न सक्ने बताएका छन् ।
लगानीकर्ता केशव कोइरालाले धेरै कम्पनी व्यवसाय विस्तारभन्दा पनि आइपीओ निष्कासनलाई मुख्य उद्देश्य बनाएर स्थापना भइरहेको आरोप लगाउनुभयो । उहाँका अनुसार कतिपय कम्पनी लक–इन अवधि सकिएपछि सेयर बिक्री गरेर बाहिरिने उद्देश्यका साथ बजारमा आएको देखिएको छ ।
यता नेपाल धितोपत्र बोर्डले भने कानुनी प्रक्रिया र तोकिएका मापदण्ड पूरा गरेका कम्पनीलाई मात्रै सार्वजनिक निष्कासनको अनुमति दिइने स्पष्ट पारेको छ । बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले आइपीओ स्वीकृति प्रक्रिया नियम र कानुनी व्यवस्था अनुसार नै अघि बढाइएको बताउनुभयो । ०००००












प्रतिकृया दिनुहोस