नेपाल टेलिकमको खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले वृद्धि

 

बिर्तामोड, ३१ साउन । 
नेपाल टेलिकमले गत आर्थिक वर्षमा ८ अर्ब ६८ करोड ४६ लाख  खुद मुनाफा कमाएको छ ।
कम्पनीले हिजो सार्वजनिक गरेको वित्तीय विवरणले गत आर्थिक वर्षको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले वृद्धि भएको देखाएको हो । आव २०८१÷८२ सालको चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख थियो । एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफामा दुई अर्ब ८५ करोड ७९ लाखले वृद्धि भएको हो । कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफा पनि उल्लेख्य बढेको छ ।
गत आवको चौथो त्रैमासिकसम्म कर अघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख पुगेकामा अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा नौ अर्ब ८५ करोड २ लाख थियो । यस आधारमा कर अघिको मुनाफा ३४ दशमलव ६६ प्रतिशतले बढेको हो । त्यस्तै, कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी २० अर्ब ४८ करोड एक लाख पुगेको छ। गत आवको सोही अवधिमा १८ अर्ब ४९ करोड ६० लाख आम्दानी भएको थियो । तुलनात्मक रूपमा यो १० दशमलव ७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमको कुल सञ्चालन आय समीक्षा अवधिमा ३४ अर्ब ९५ करोड चार लाख पुगेको हो । अघिल्लो आवको चौथो त्रैमासिकसम्म यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा सञ्चालन आय  एक अर्ब पाँच करोड ५९ लाख अर्थात तीन दशमलव १२ प्रतिशतले बढेको हो ।  कम्पनीले आगामी दिनमा सेवा गुणस्तर सुधार, नयाँ प्रविधिको विस्तार र दुर्गम क्षेत्रमा दूरसञ्चार पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै जाने जनाएको छ । 
 

प्रतिकृया दिनुहोस