पार्टी अफ्ठ्यारोमा परेका बेला नेतृत्व छाडेर नहिँड्ने अध्यक्ष ओलीको दाबी
इलाम, ३० साउन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अफ्ठ्यारोमा परेको बेला आफूले नेतृत्व नछाड्ने स्पष्ट पार्नुभएको छ ।
लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्न इलाम पुग्नुभएका अध्यक्ष ओलीले पार्टीभित्र अध्यक्ष हटाउने र नेतृत्व परिवर्तन गर्ने विषयमा भइरहेका गतिविधिप्रति असन्तुष्टि जनाउनुभयो ।
उहाँले पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने विषयमा छलफल गर्ने तथा हस्ताक्षर अभियान चलाउने काम अनुशासनहीनता र अराजकता भएको टिप्पणी गर्नुभयो ।
पार्टी पुनर्गठनको बहस गर्नेहरूलाई समेत अध्यक्ष ओलीले आलोचना गर्दै विरोधीले पार्टीमाथि तीव्र प्रहार गरिरहेका बेला नेतृत्व परिवर्तनको कुरा गर्नु उचित नभएको बताउनुभयो । उहाँले अब केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ एकताबद्ध बनाएर अघि बढाउने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले पार्टीको विरोध गर्दै सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टीको विधि–विधानविपरीत गतिविधि गर्ने छुट कसैलाई नभएको बताउनुभयो । पार्टीमा बसेर काम गर्ने हो भने नीति, नियम र अनुशासन पालना गर्नुपर्ने उहाँको भनाइ छ ।
विधि र विधानविपरीत जानेहरूमाथि कारबाही गर्ने चेतावनी दिँदै अध्यक्ष ओलीले आफू अर्को महाधिवेशनसम्म पार्टीको नेतृत्व गर्न कार्यकर्ताबाट अत्यधिक मतसहित निर्वाचित भएको स्मरण गराउनुभयो ।
यसैबीच, अध्यक्ष ओलीले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारबाट देश सञ्चालन हुन नसक्ने टिप्पणीसमेत गर्नुभएको छ ।
उहाँले सरकारले राजनीतिक प्रतिशोधका आधारमा आफू, रमेश लेखकसहित विभिन्न नेताहरूलाई पक्राउ गरेको र झुटा मुद्दा लगाउने प्रयास गरेको आरोप लगाउनुभयो ।
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगप्रति समेत अध्यक्ष ओलीले असन्तुष्टि जनाउनुभयो । उहाँले छानिछानी मुद्दा लगाउने उद्देश्यले आयोग गठन गरिएको बताउँदै विभिन्न व्यक्ति र समूहलाई कानुनी छुट दिइएको दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले सुनसरीमा समेत सरकारले साम्प्रदायिक विद्वेष र हिंसा भड्काउन खोजेको आरोप लगाउनुभयो । आफ्ना कार्यकर्ता भेला गराएर हिंसा भड्काउने र पछि सम्झौता गरेर आन्दोलन साम्य पार्ने काम भएको उहाँको दाबी छ ।
प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएकोप्रति समेत अध्यक्ष ओलीले आपत्ति जनाउनुभएको छ । ०००००











प्रतिकृया दिनुहोस