मधेशमा ट्रान्सफर्मर चोरी बढ्दा किसान र सर्वसाधारण प्रभावित
धनुषा, २ भदौ ।
मधेश प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढ्दै जाँदा किसान र सर्वसाधारण प्रभावित भएका छन् । विशेषगरी सिँचाइ तथा खानेपानीका लागि गाउँबस्तीभन्दा बाहिर जडान गरिएका ट्रान्सफर्मर चोरको निशानामा पर्न थालेका छन् ।
पछिल्लो घटनामा महोत्तरीको औरही नगरपालिका–१ मा सिँचाइका लागि जडान गरिएको एक सय केभी क्षमताको ट्रान्सफर्मर चोरी भएको छ । साउन २७ गते राति ट्रान्सफर्मर चोरी भएपछि धानबालीमा सिँचाइ गर्न किसानलाई समस्या भएको छ ।
यसैगरी, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ इच्छापुरमा खानेपानी आयोजनाका लागि जडान गरिएको ट्रान्सफर्मर साउन ३ गते चोरी भएको थियो । मिथिला नगरपालिका–२ नक्टाझिजमा असार २६ गते चोरी भएको ट्रान्सफर्मरबाट तेल र क्वाइलसमेत निकालेर लगिएको थियो । उक्त ट्रान्सफर्मर यसअघि पनि दुई पटक चोरी भइसकेको स्थानीयले बताएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै प्रदेशमा ३३ वटा ट्रान्सफर्मर चोरी भएका छन् । सबैभन्दा बढी महोत्तरीमा ११ वटा चोरी भएका छन् । सप्तरीमा सात, धनुषा र बारामा चार–चार, सर्लाहीमा तीन, सिरहामा दुई तथा रौतहटमा एउटा ट्रान्सफर्मर चोरी भएको प्रहरीले जनाएको छ ।
पछिल्ला पाँच आर्थिक वर्षमा मधेश प्रदेशमा एक सय एक वटा ट्रान्सफर्मर चोरी भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा २८, २०७९/८० मा सात, २०८०/८१ मा १२, २०८१/८२ मा २१ र २०८२/८३ मा ३३ वटा ट्रान्सफर्मर चोरी भएको प्रहरी तथ्यांक छ ।
ट्रान्सफर्मर चोरी भएपछि विद्युत् तथा खानेपानी सेवा अवरुद्ध हुनुका साथै नयाँ ट्रान्सफर्मर जडान र मर्मतमा नेपाल विद्युत् प्राधिकरणमाथि थप आर्थिक भार पर्ने गरेको छ ।
विद्युत् प्राधिकरणका अधिकारीका अनुसार चोरी रोक्न ट्रान्सफर्मरमा वेल्डिङसमेत गर्ने गरिएको छ। तर चोरहरूले वेल्डिङ काटेरै ट्रान्सफर्मर चोरी गर्ने गरेका छन् ।
मधेश प्रदेश प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले ट्रान्सफर्मर चोरी नियन्त्रणका लागि प्राधिकरणका प्रतिनिधिसँग छलफल भइरहेको बताउनुभएको छ । उहाँले जडान गर्ने बेलामै सुरक्षाका उपाय अपनाउनुका साथै स्थानीय बासिन्दाले पनि निगरानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
मधेश प्रदेशमा करिब आठ हजार ट्रान्सफर्मर जडान गरिएको विद्युत् प्राधिकरणले जनाएको छ । चोरी नियन्त्रणका लागि प्राधिकरणले स्थानीय बासिन्दा, प्रहरी र प्रशासनसँग समन्वय गर्दै निगरानी बढाउन आग्रह गरेको छ । ०००००











प्रतिकृया दिनुहोस