Close This

इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने


बिर्तामोड, २ असोज । 
अमेरिकाले इरानका राष्ट्रपति मसुद पेजेस्कियन र विदेशमन्त्री अब्बास अराघचीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा दिने भएको छ । अमेरिका र इरानबीचको युद्ध सातौँ महिनामा प्रवेश गर्न लागेका बेला इरानी अधिकारीलाई महासभामा सहभागी हुन अमेरिकाले अनुमति दिएको बीबीसीले जनाएको छ । यद्यपि, इरानी प्रतिनिधिमण्डलमाथि अमेरिकाभित्र आवतजावतसम्बन्धी प्रतिबन्ध भने कायम रहनेछ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार इरानी प्रतिनिधिमण्डललाई विलासी तथा अन्य अमेरिकी सामान खरिद गर्नसमेत रोक लगाइनेछ । गएको वर्ष पनि इरानी कूटनीतिज्ञमाथि अमेरिकाले विभिन्न खरिद प्रतिबन्ध लगाएको थियो । अमेरिका र इरानबीच जारी युद्धले विश्वव्यापी ऊर्जा बजारमा असर परेको छ भने द्वन्द्व छिमेकी मुलुकसम्म फैलिएको छ । युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि घरेलु तथा अन्तर्राष्ट्रिय दबाब बढिरहेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफल आउँदो मङ्गलबारदेखि सुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ । आउँदो बुधबार युक्रेन, सिरिया र इरानका नेताले सम्बोधन गर्ने अपेक्षा गरिएको छ । अमेरिकाले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र प्यालेस्टिनी प्रतिनिधिमण्डललाई भने महासभामा सहभागी हुन भिसा नदिएको बीबीसीले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस