Close This

अमेरिकामा मध्यावधि चुनावको अग्रिम मतदान सुरु


बिर्तामोड, ३ असोज
सन् २०२६ को अमेरिकी मध्यावधि चुनावका लागि प्रत्यक्ष अग्रिम मतदान सुरु भएको छ। भर्जिनियामा शुक्रबारदेखि अग्रिम मतदान सुरु भएको हो। मिनेसोटा, साउथ डकोटा र केही अन्य राज्यमा पनि मतदाताले मतदान केन्द्रमै पुगेर अग्रिम मतदान गर्न थालेका छन्। आगामी हप्ताहरूमा थप राज्यमा अग्रिम मतदान सुरु हुनेछ । नोभेम्बर ३ मा हुने चुनावबाट अमेरिकी कङ्ग्रेसको प्रतिनिधिसभा र सिनेटमा कुन दलको नियन्त्रण रहने भन्ने तय हुनेछ। अधिकांश राज्यमा गभर्नर तथा राज्य विधायिकाका लागि समेत निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानका केही विधिमा परिवर्तनको प्रयास गरिरहनुभएको छ। गैरनागरिकले मतदान गरेको दाबी गर्दै उहाँको प्रशासनले मतदाता विवरणमा सङ्घीय पहुँच विस्तार गर्ने प्रयाससमेत गरिरहेको छ। टेक्सासमा मतदाता विवरणको समीक्षा गर्दा सम्भावित गैरनागरिक मतदानसँग सम्बन्धित ११७ वटा मामला थप अनुसन्धानका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाइएको राज्य निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, कङ्ग्रेसका निर्वाचन क्षेत्र पुनःसंरचनाको विषय पनि चर्चामा छ। विभिन्न राज्यमा भएका पुनःसंरचनाका कारण लाखौँ मतदाताको कङ्ग्रेस निर्वाचन क्षेत्र परिवर्तन भएको बताइएको छ । यसबीच मिनेसोटाका प्रमुख निर्वाचन अधिकारी स्टिभ साइमनले अपुष्ट सूचना र भ्रमपूर्ण दाबीबाट प्रभावित नहुन मतदातालाई आग्रह गर्नुभएको छ । निर्वाचन प्रक्रिया राज्यअनुसार फरक भए पनि आगामी नोभेम्बर ३ को मतदानले अमेरिकी कङ्ग्रेसको आगामी कार्यदिशामा महत्वपूर्ण प्रभाव पार्नेछ ।

प्रतिकृया दिनुहोस