Close This

इरान युद्धले अमेरिकास्थित इरानी–अमेरिकी समुदायमा गहिरो विभाजन

वाशिङ्टन, २ असोज ।
अमेरिका–इजरायलको इरानविरुद्धको युद्धले अमेरिकामा रहेका इरानी–अमेरिकी समुदायमा गहिरो विभाजन ल्याएको छ । युद्धले इरानको इस्लामी शासन परिवर्तन गर्ने विषयमा प्रवासी समुदायबीच मतभेद बढ्दै जाँदा परिवार र साथीभाइबीचको सम्बन्धसमेत प्रभावित भएको बताइएको छ ।
अमेरिकामा रहेका अधिकांश इरानी मूलका मानिस इरानको लामो समयदेखिको धार्मिक शासनको विरोधमा रहे पनि शासन परिवर्तनका लागि सैन्य हस्तक्षेप आवश्यक छ कि छैन भन्ने विषयमा उनीहरू विभाजित भएका हुन् ।
इरानी मूलका अमेरिकी सोरोसले इरानको इस्लामी सरकारको विरोध गरे पनि युद्धबाट समस्या समाधान नहुने धारणा राख्नुभएको छ । उहाँले युद्धका कारण इरानमा सर्वसाधारणले ज्यान, रोजगारी, सम्पत्ति र बचत गुमाउनुपर्ने बताउनुभएको छ ।
तर, चिकित्सा क्षेत्रमा कार्यरत बहार र बैंकमा काम गर्ने आहू सिगार्चीले भने शासन परिवर्तनका लागि सैन्य कारबाही आवश्यक रहेको धारणा राख्नुभएको छ । उहाँहरूले इरानमा मारिएका प्रदर्शनकारीको घटनालाई आधार बनाउँदै सैन्य हस्तक्षेपको समर्थन गर्नुभएको छ । 
क्यालिफोर्निया स्टेट युनिभर्सिटीका इरानी तथा मध्यपूर्वी अध्ययन केन्द्रका निर्देशक साहर रजावीका अनुसार युद्धले समुदायमा पहिलेदेखिको तनाव झनै बढाएको छ । उहाँका अनुसार पारिवारिक सम्बन्ध तनावपूर्ण बन्नुका साथै लामो समयदेखिका मित्रतासमेत टुटेका छन् ।
नेशनल इरानियन अमेरिकन काउन्सिलको सर्वेक्षणअनुसार युद्ध सुरु हुँदा इरानी–अमेरिकी समुदाय युद्धको समर्थन र विरोधमा करिब आधा–आधा विभाजित थियो । तर, एक महिनापछि गरिएको सर्वेक्षणमा ६६ दशमलव १ प्रतिशतले युद्धको विरोध गरेका छन् भने ३२ दशमलव ७ प्रतिशतले समर्थन गरेका छन् । युद्ध र इरानी शासन दुवैको विरोध गर्नेहरू तथा सैन्य हस्तक्षेपको समर्थन गर्नेहरूबीच सामाजिक सञ्जालदेखि सामुदायिक गतिविधिसम्म विवाद बढेको बताइएको छ । ००००
 

प्रतिकृया दिनुहोस