बाँदरको सास्तीपछि भोजपुरका किसानको रोजाइमा घरतरुल खेती
बिर्तामोड, ३ असोज
बाँदरको सास्ती बढेपछि भोजपुरका ग्रामीण क्षेत्रका किसानले घरतरुल खेतीलाई वैकल्पिक आम्दानीको स्रोत बनाउन थालेका छन्। जमिनमुनि फल्ने भएकाले बाँदर तथा अन्य वन्यजन्तुबाट सुरक्षित हुने र कम मिहिनेतमै राम्रो उत्पादन लिन सकिने भएपछि किसानको आकर्षण बढेको हो। मकै, कोदो र आलुजस्ता बाली बाँदरले नष्ट गर्न थालेपछि कतिपय किसानले जमिन बाँझै छाड्ने गरेका थिए। अहिले भने त्यस्ता जमिनमा समेत तरुल खेती गर्न थालिएको छ। भोजपुर नगरपालिका–५ का किसान बेनीबहादुर विष्टले बाँदर प्रभावित क्षेत्रमा तरुल भरपर्दो आम्दानीको स्रोत बनेको बताउनुभयो।
किसानका अनुसार कात्तिक–मंसिरदेखि तरुल खनेर बजारमा बिक्री गर्न सकिन्छ । स्थानीय बजारमा प्रतिकेजी ८० देखि १२० रुपैयाँसम्ममा बिक्री हुने तरुलको एउटै बोटबाट १५ देखि २० किलोसम्म उत्पादन लिन सकिने बताइएको छ । कम सिँचाइ र भिरालो जमिनमा समेत राम्रो उत्पादन हुने तरुलको माग माघे सङ्क्रान्तिका बेला अझ बढ्ने गरेको छ । भोजपुरको तरुल स्थानीय बजारसँगै धरान, इटहरी र विराटनगरसम्म पुग्ने गरेको किसानले बताएका छन्। कृषि विज्ञहरूले बाँदर प्रभावित क्षेत्रमा वैकल्पिक नगदे बालीका रूपमा तरुल खेती विस्तार गर्न किसानलाई प्राविधिक सहयोग र उन्नत बीउ उपलब्ध गराउन स्थानीय सरकारलाई सुझाव दिएका छन् ।






.jpeg)




प्रतिकृया दिनुहोस