Close This

जापान जाने अवसर छाडेर स्वदेशमै सैलुन व्यवसायमा प्रतीक


बिर्तामोड, ३ असोज
अर्जुनधारा नगरपालिका–७ का २७ वर्षीय प्रतीक भट्टराईले जापान जाने अवसर छाडेर स्वदेशमै सैलुन व्यवसाय सुरु गर्नुभएको छ । सिभिल इन्जिनियरिङ अध्ययन गर्नुभएका उहाँले निर्माण क्षेत्रमा काम गरेको अनुभवलाई समेत छाडेर आफूले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्नुभएको हो । उहाँले अर्जुनधारा–८ स्थित शनिश्चरे बजारको एक कम्प्लेक्समा ‘जाइरो सैलुन एण्ड एकाडेमी’ सञ्चालनमा ल्याउनुभएको छ।

सैलुनको शुक्रबार वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले शुभारम्भ गर्नुभयो । व्यवसाय सुरु गर्नुअघि बिर्तामोडस्थित जेन्जी बार्बर सपबाट सैलुनसम्बन्धी सीप सिक्नुभएका भट्टराईले सेवा प्रदानसँगै युवालाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले प्रशिक्षण केन्द्र पनि सञ्चालनमा ल्याउनुभएको हो । एकाडेमीमा कपाल काट्ने, विभिन्न हेयर स्टाइल, हेयर स्टाइलिङ, मेकअप, ग्रुमिङ तथा सौन्दर्यसम्बन्धी तालिम सञ्चालन गरिनेछ। कपालसम्बन्धी एकमहिने आधारभूत र दुईमहिने उन्नत तालिमसमेत सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष उप्रेतीले विदेश जाने बढ्दो प्रवृत्तिका बीच स्वदेशमै सीप र लगानी प्रयोग गरेर व्यवसाय सञ्चालन गर्नु सकारात्मक उदाहरण भएको बताउनुभयो । हाल एकाडेमीमा दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
 

प्रतिकृया दिनुहोस