कोशी ब्यारेजमा ३१ ढोका खोलियो, रेड अलर्ट जारी
सुनसरी, ९ असोज ।
कोशी ब्यारेजमा पानीको बहाव बढेसँगै ३१ वटा ढोका खोलिएको छ । ब्यारेजमा अहिले २ लाख ४० हजार क्युसेक बाढी मापन भएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार कोशी ब्यारेज अहिले रेड अलर्टको अवस्थामा रहे पनि आत्तिनुपर्ने अवस्था भने छैन । अघिल्ला वर्षमा कोशीमा ५ लाख क्युसेकभन्दा बढी बाढी मापन भएको उहाँले बताउनुभयो । बाढीको बहाव अझै बढे आवश्यकताअनुसार थप निर्णय गरिने उहाँको भनाइ छ ।
हाल कोशी पुलबाट सञ्चालन हुने सवारीसाधन भने रोकिएको छैन । बाढीको बहाव बढेपछि मात्रै सवारी आवागमनबारे आवश्यक निर्णय गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
यसैबीच, मौसम विज्ञान विभागले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पर्सिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सचेत रहन अनुरोध गरेको छ । ०००००








प्रतिकृया दिनुहोस