प्रचारप्रसार र पूर्वाधार अभावमा चौबिसेका सङ्ग्रहालय ओझेलमा

बिर्तामोड, १७ असोज । 

धनकुटाको चौबिसे गाउँपालिकामा संस्कृति, इतिहास र पहिचान संरक्षणका लागि निर्माण गरिएका मगर र जनजाति सङ्ग्रहालय पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावमा ओझेलमा परेका छन् । स्थानीय समुदायको मौलिक संस्कृति झल्काउने महत्वपूर्ण सामग्री सङ्ग्रह गरिए पनि पर्यटकको आगमन भने न्यून रहेको छ ।
चौबिसे गाउँपालिका–२ मुढेबासको डाँडागाउँस्थित मगर सङ्ग्रहालयमा मगर समुदायले परम्परागत रूपमा प्रयोग गर्ने एक सयभन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक सामग्री राखिएका छन् । चार वर्षअघि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको १० लाख रुपैयाँबाट निर्माण सुरु गरिएको सङ्ग्रहालयलाई होमस्टेसँग जोड्ने योजना कार्यान्वयन नहुँदा पर्यटक आकर्षित गर्न कठिन भएको गाउँपालिका उपाध्यक्ष टङ्कमाया पाङ्मी मगरले बताउनुभयो । यस्तै, चौबिसे गाउँपालिका–७ डाँडाटोलमा २०७५ सालमा निर्माण गरिएको जनजाति सङ्ग्रहालयमा लिम्बू, याखा, मगरलगायत समुदायका सांस्कृतिक सामग्री सङ्ग्रह गरिएका छन् । सडक सुविधा पुगे पनि पर्याप्त प्रचारप्रसार नहुँदा पर्यटकको आगमन अपेक्षाअनुसार हुन नसकेको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले बताउनुभयो ।
सङ्ग्रहालयलाई विद्यालयस्तरीय शैक्षिक भ्रमण, सांस्कृतिक महोत्सव, होमस्टे र पर्यटन प्याकेजसँग जोड्न सके स्थानीय रोजगारी, आर्थिक गतिविधि र सांस्कृतिक संरक्षणमा योगदान पुग्ने उहाँको भनाइ छ ।
स्थानीयवासीले सङ्ग्रहालयको दीर्घकालीन सञ्चालन, प्रभावकारी व्यवस्थापन, पर्यटन पूर्वाधार र प्रचारप्रसारमा जोड दिनुपर्ने बताएका छन् । उचित प्रवद्र्धन गर्न सके यी सङ्ग्रहालय चौबिसेको पहिचानसँगै महत्वपूर्ण सांस्कृतिक पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस