भोजपुरका किसान मेकाडेमिया खेतीतर्फ आकर्षित
बिर्तामोड, १७ असोज ।
बाँदरबाट कम क्षति हुने र बजारमा राम्रो मूल्य पाइने भएपछि भोजपुरका किसान मेकाडेमिया नट खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा यसको परीक्षण तथा व्यावसायिक खेती विस्तार भइरहेको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाका किसान जीवन थापाले २०७६ सालदेखि व्यावसायिक खेती गर्दै आउनुभएको छ । उहाँले पोखराबाट बिरुवा ल्याएर करिब दुई हजार बोट लगाउनुभएको छ । गत वर्ष उहाँले प्रतिकिलो दुई हजार रुपैयाँका दरले करिब एक सय ५० किलो मेकाडेमिया बिक्री गर्नुभएको थियो । दाना छुट्याएर गुदी मात्र बिक्री गर्दा प्रतिकिलो पाँच हजार रुपैयाँसम्म मूल्य पाइने उहाँले बताउनुभयो । बोटमा काँडा र फलको बोक्रा कडा हुने भएकाले बाँदरबाट अन्य बालीको तुलनामा कम क्षति हुने किसानको भनाइ छ । भोजपुरको हावापानी र भौगोलिक अवस्था मेकाडेमिया खेतीका लागि उपयुक्त रहेकाले यसको विस्तारको सम्भावना रहेको छ । टेम्केमैयुङ गाउँपालिकाले गत वर्ष किसानलाई चार सय बोट बिरुवा निःशुल्क वितरण गरेको थियो । गाउँपालिका अध्यक्ष सरोज बस्नेतले माग आएमा यस वर्ष पनि बिरुवा वितरण गर्ने योजना रहेको बताउनुभयो । पौवादुङमा गाउँपालिकाका युवा किसान करण राईले पनि परीक्षणका रूपमा लगाएका बोटमा फल लाग्न थालेको जानकारी दिनुभयो । उत्पादन लिन केही वर्ष लाग्ने भए पनि लामो समयसम्म आम्दानी लिन सकिने र अन्तर्राष्ट्रिय बजारमा समेत माग रहेकाले मेकाडेमिया खेती भोजपुरका किसानका लागि दीर्घकालीन आम्दानीको स्रोत बन्न सक्ने देखिएको छ ।








प्रतिकृया दिनुहोस