रासायनिक मल कारखानाबारे अध्ययन गर्न अध्ययन कार्यदल
काठमाडौँ, १५ असोज ।
नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि उत्पादित मलको खरिद सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्रीस्तरीय निर्णय गर्दै कृषि, अर्थ, उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञहरू सम्मिलित कार्यदल गठन गर्नुभएको हो ।
कार्यदलले नेपालमा रासायनिक मल उत्पादन सुरु भएपछि त्यसको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना तथा विद्यमान कानुनी र नीतिगत व्यवस्थाबारे अध्ययन गर्नेछ। साथै, आवश्यक संस्थागत संरचनाका विषयमा पनि सुझाव दिनेछ ।
नेपालमा रासायनिक मल कारखाना स्थापना गरी आयातमा निर्भरता घटाउने तयारी भइरहे पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चित गर्ने स्पष्ट कानुनी व्यवस्था नभएकाले आवश्यक कानुनी तथा नीतिगत बाटो पहिचान गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यदलले विद्यमान व्यवस्था अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया तथा संस्थागत प्रबन्धबारे सुझावसहितको प्रतिवेदन ३० दिनभित्र पेश गर्नेछ । प्रतिवेदनका आधारमा आवश्यक कानुनी संशोधन तथा नीतिगत र संस्थागत व्यवस्था अघि बढाइने मन्त्रालयले जनाएको छ । ०००००








प्रतिकृया दिनुहोस