कांग्रेस महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास 

काठमाडौं, १७ असोज ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट सकेसम्म सर्वसम्मत रूपमा पार्टीको नेतृत्व चयन गर्ने प्रयास गर्ने जनाएको छ । महाधिवेशनको तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने बताउनुभएको हो ।
महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले सभापति गगन थापालाई अहिलेसम्म कसैले चुनौती नदिएको बताउनुभयो । उहाँले महाधिवेशनलाई नेता चयनमा मात्र केन्द्रित नगरी नीति चयनको अधिवेशन बनाउनेमा जोड दिनुभयो ।
महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आगामी कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक विषयसम्बन्धी र महामन्त्री प्रदीप पौडेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।
प्रवक्ता चालिसेका अनुसार महाधिवेशनका प्रत्येक प्रतिनिधिले ३ हजार ५ सय रुपैयाँ बुझाएपछि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट झोला प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनका लागि आमन्त्रण गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । कांग्रेसको परम्परा अनुसार भने महाधिवेशनको उद्घाटन पार्टी सभापतिले नै गर्ने व्यवस्था रहेको उहाँको भनाइ छ ।
नेपाली कांग्रेसको आधिकारिक जानकारीअनुसार १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा गर्ने तय गरिएको छ । ००००
 

प्रतिकृया दिनुहोस