झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनपछि एमालेको शपथ ग्रहण कार्यक्रम स्थगित
बिर्तामोड, १५ असोज ।
झापा आन्दोलनका योद्धा तथा नेकपा एमालेका नेता घनेन्द्र बस्नेतको निधनपछि एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम स्थगित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार आज दिउँसो ३ बजे च्यासलस्थित पार्टी कार्यालयमा हुने तय भएको शपथ ग्रहण कार्यक्रम भोलि असोज १६ गते दिउँसो ३ बजेका लागि सारिएको हो ।
एमालेले असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकबाट ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
यसैबीच, नेता बस्नेतलाई अन्तिम श्रद्धाञ्जली दिन एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहान दुवाकोटस्थित क्यान्सर अस्पताल पुग्ने कार्यक्रम रहेको छ । बस्नेतको आज बिहान साढे ८ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मनुभएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक हुनुहुन्थ्यो। पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उहाँले करिब १७ वर्ष जेलजीवन बिताउनुभएको थियो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको गएराति उपचारका क्रममा निधन भएको हो ।











प्रतिकृया दिनुहोस