बालेन नेतृत्वको सरकार नढल्ने सभापति लामिछानेको दाबी
काठमाडौँ, १८ असोज ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार नढल्ने दाबी गर्नुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार कमजोर भयो र ढल्छ भन्ने चर्चा निरन्तर हुने गरे पनि त्यस्तो नहुने बताउनुभयो । सरकार दशैँ, तिहार, छठ वा नेपाल संवतमा ढल्छ भन्ने हल्ला चलाइए पनि सरकार नढल्ने र पटक–पटक सरकार ढल्छ भन्नेहरू नै सरकार नढलेको देखेर बेहोस भएर ढल्ने उहाँको टिप्पणी थियो । लामिछानेले यसपटक जनताले कुनै व्यक्तिलाई मात्र नभई इतिहास परिवर्तन गर्ने उद्देश्यले सरकार चुनेको दाबी गर्नुभयो । जनताले दिएको मत र विश्वासको सम्मान गर्नुपर्ने भन्दै उहाँले जनमतको हुर्मत नलिन सबैलाई आग्रह गर्नुभयो ।
उहाँले वर्तमान सरकारलाई राजनीतिक परिवर्तन र जनताको अपेक्षा पूरा गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै सरकारप्रति फैलाइने आशंका र हल्लाभन्दा जनादेशको सम्मान गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । ०००००










प्रतिकृया दिनुहोस