प्रविधिसँगै समयअनुकूल पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं, १७ असोज ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको मागअनुसार पाठ्यक्रम र पठनपाठनलाई अघि बढाउनुपर्ने बताउनुभएको छ ।
ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु शिक्षाको प्रमुख दायित्व भएको बताउनुभयो ।
उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि स्वदेशमै उत्पादनशील रोजगारी सिर्जना गर्न तथा नागरिकमा देशभक्तिको भावना विकास गर्ने शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले शिक्षा ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोध विकास गर्ने माध्यम भएकाले समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो । नेपालको विविध भाषा, संस्कृति र परम्परालाई सम्मान गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न शिक्षाले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले शिक्षाको उद्देश्य परीक्षामा राम्रो परिणाम ल्याउनु वा प्रमाणपत्र हासिल गर्नुमा मात्र सीमित नहुने बताउनुभयो । सूचना प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा कस्तो राष्ट्र निर्माण गर्ने र भविष्यमा कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रश्नको उत्तर शैक्षिक प्रणालीले खोज्नुपर्ने उहाँले बताउनुभयो ।
सेन्ट जेभियर्स विद्यालयले नेपालको शैक्षिक विकासमा पु¥याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आगामी दिनमा पनि नागरिकको सर्वाङ्गीण विकास र राष्ट्र निर्माणमा विद्यालयले प्रभावकारी योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । ०००००
 

प्रतिकृया दिनुहोस