दसैँ नजिकिएसँगै काठमाडौँका बजारमा ग्राहकको चहलपहल

काठमाडौँ, १८ असोज । 
बडादसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा किनमेल गर्ने ग्राहकको चहलपहल बढेको छ । दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न भृकुटीमण्डप, असन, इन्द्रचोक, न्यूरोड र सुन्धारालगायतका बजारमा ग्राहकको भीड बढ्न थालेको हो ।
विशेषगरी परिवारका सदस्य, आफन्त र बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या बढेको व्यापारीहरूले बताएका छन् । भृकुटीमण्डपका व्यापारी अशोक खतिवडाका अनुसार केही दिनयता बजारमा ग्राहकको आवागमन बढेको छ । ग्राहकको चाप बढेसँगै सामान देखाउन, मूल्य बताउन र बिक्री व्यवस्थापन गर्न व्यापारीलाई भ्याइनभ्याइ भएको छ । 
अर्का व्यापारी श्यामप्रकाश अधिकारीले एउटै स्थानमा विभिन्न प्रकारका सामान उपलब्ध हुनु र आफ्नो बजेटअनुसार खरिद गर्न सकिने भएकाले खुला बजार ग्राहकको रोजाइमा पर्ने गरेको बताउनुभयो । चाडपर्वका बेला सीमित आम्दानी भएका परिवारका लागि यस्ता बजार अझ आकर्षक बन्ने गरेका छन् । सुन्धाराका रात्रिकालीन बजारमा पनि ग्राहकको चहलपहल बढेको व्यापारी सङ्गीता न्यौपानेले बताउनुभयो । दसैँसँगै मौसम चिसिँदै जान थालेकाले ज्याकेट, स्विटर, हुडी र ट्र्याकसुटजस्ता न्यानो कपडा खरिद गर्ने ग्राहकसमेत बढेका छन् ।
दसैँलाई लक्षित गरी व्यापारीहरूले विभिन्न डिजाइन, रङ र मूल्यका कपडासहित आवश्यक सामग्रीको मौज्दात बढाएका छन् । चाडपर्व नजिकिँदै जाँदा काठमाडौँका बजारमा ग्राहकको चाप अझ बढ्ने व्यवसायीको अपेक्षा छ । ०००००
 

प्रतिकृया दिनुहोस