मानिसमा सर्ने अधिकांश सङ्क्रामक रोगको स्रोत पशु, स्वच्छ मासुमा जोड
चितवन, १८ असोज ।
मानिसमा सर्ने अधिकांश सङ्क्रामक रोगको स्रोत पशु रहेको पशु तथा मत्स्य विकास निर्देशनालय हेटौँडाले जनाएको छ । हरेक वर्ष मानिसमा देखिने पाँचवटा नयाँ रोगमध्ये तीनवटा पशुबाट उत्पत्ति हुने गरेको निर्देशनालयले जनाएको हो ।
निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. सन्तोष घिमिरेका अनुसार मानिसमा लाग्ने सङ्क्रामक रोगमध्ये ६० प्रतिशत जुनोटिक अर्थात् पशुबाट मानिसमा सर्ने प्रकृतिका छन् । नयाँ सङ्क्रामक रोगमध्ये ७५ प्रतिशत पशुबाट उत्पत्ति हुने भएकाले मासु र दूधको स्वच्छतामा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
स्वच्छ मासु सुनिश्चित गर्न पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । चितवनमा दैनिक हजारौँ कुखुरासहित भैँसी, बाख्रा र बङ्गुर वध हुने गरेकाले व्यवस्थित वधशालाको आवश्यकता रहेको उहाँको भनाइ छ ।
भरतपुर महानगरपालिकामा मात्रै चार सयभन्दा बढी वधस्थल रहे पनि ती व्यवस्थित नभएको महानगरको पशु सेवा शाखाले जनाएको छ । मासु पसलको सरसफाइसँगै मासु भण्डारण गर्ने तापक्रम, शीतशृङ्खला र ढुवानीमा समेत ध्यान दिनुपर्ने पशु सेवा शाखाका डा. रविन वस्ताकोटीले बताउनुभयो ।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेले स्वच्छ मासुको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहले ऐन र नियमावली कार्यान्वयनमा सक्रियता देखाउनुपर्ने बताउनुभयो ।
बिरामी वा मरेका पशुपन्छीको मासु बिक्री, जथाभावी वध, अस्वच्छ भण्डारण र ढुवानी तथा सडेगलेका मासुको बिक्रीले रोग सङ्क्रमणको जोखिम बढाउने भएकाले दसैँअघि नै मासु जाँचसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ०००००










प्रतिकृया दिनुहोस