बेनी–जोमसोम–कोरला सडकको अवरोध हटाउन मर्मत तीब्र

म्याग्दी, १८ असोज । 
असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षापछि क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा अवरोध हटाउन मर्मत कार्य तीव्र पारिएको छ । चीनसँगको व्यापारका लागि कोरला नाका जोड्ने मुख्य सडक तथा मुस्ताङको यातायात सम्पर्क कायम गर्न सरकारले उच्च प्राथमिकताका साथ मर्मत अघि बढाएको हो ।
दुई सय दुई किलोमिटर लामो सडकमा बाढीपहिरोले ५५ स्थानमा क्षति पु¥याएको थियो । पर्वतको मालढुङ्गादेखि म्याग्दीको राहुपारे र कोरला नाकादेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानीसम्मको सडक मर्मत भइसकेको आयोजना प्रमुख तेजस्वी शर्माले बताउनुभयो ।
राहुपारेदेखि पोखरेबगरसम्मको करिब १५ किलोमिटर सडक भने अझै मर्मत गर्न बाँकी छ । पोखरेबगरदेखि रातोपानी, धिरच्याङ, महभीर, भीरकाटे, तिप्ल्याङ, बेगखोला, कुनौटा, सिरुवारी, बैसरी र राहुपारे क्षेत्रमा कालीगण्डकी नदीले सडक कटान गरेपछि यातायात प्रभावित भएको छ ।
आयोजना प्रमुख शर्माका अनुसार अवरोध भएका सबै स्थानमा एकैसाथ उपकरण र मजदुर परिचालन गरी मर्मतलाई तीव्रता दिइएको छ । सबै काम योजनाअनुसार अघि बढेमा अबको एक सातादेखि १० दिनभित्र चारपाङ्ग्रे सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा सडकको विकल्प खोल्न अवरोध बनेको संरचना हटाउन ढिलाइ हुँदा दुई दिन मर्मत प्रभावित भएको थियो । अहिले तिल्केनीचौर हुँदै राहुपारेतर्फ सडक मर्मत सुरु गरिएको छ ।
सडक अवरोधका कारण रोकिएका एस्काभेटरलाई सुरक्षाकर्मी र स्वयंसेवकले डिजेल ढुवानी गरी सञ्चालनमा ल्याइएको छ । मुस्ताङबाट ल्याइएको तथा जलविद्युत् आयोजनाबाट सापटी लिइएको इन्धन प्रयोग गरेर सडक मर्मतका उपकरण परिचालन गरिएको छ । सडक सञ्चालनमा आएपछि चीनसँगको व्यापार, मुस्ताङको स्याउ बजार पठाउन तथा दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा ओसारपसार गर्न सहज हुने अपेक्षा गरिएको छ । ०००००
 

प्रतिकृया दिनुहोस