सुन्तलामा रोगको प्रकोप बढेपछि भोजपुरका किसान चिन्तित

बिर्तामोड, २० असोज । 
सुन्तलाको बगानमा विभिन्न रोगको प्रकोप देखिनुका साथै फल झर्न थालेपछि भोजपुरका किसान चिन्तित भएका छन् । दाना परिपक्व नहुँदै भेट्नो कुहिएर फल झर्न थालेपछि वर्षभरको मेहनत र लगानी खेर जाने भन्दै किसान पिरोलिएका हुन् ।
भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान तीर्थबहादुर प्रधानका अनुसार सुन्तला पहेँलो भएर आफैँ भुइँमा खस्ने समस्या देखिएको छ । उहाँले असिनापानीबाट जोगिएका फलसमेत अहिले झर्न थालेको बताउनुभयो। करिब ४२ रोपनीमा सुन्तलाखेती गर्नुभएका प्रधानको बगानमा हाँगा सुक्ने, पातमा सेतो ढुसी देखिने, पात कुप्रिने र बोट पहेँलो हुने समस्या पनि देखिएको छ । टेम्केमैयुङ गाउँपालिका–५ का किसान देवराज राईले पनि केही वर्षदेखि फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने र पात बेरिने समस्या दोहोरिँदै आएको बताउनुभयो । करिब १५ रोपनीमा सुन्तलाखेती गरी वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएका उहाँले रोगका कारण उत्पादन घट्दै गएको जानकारी दिनुभयो । भोजपुर नगरपालिका–६ का किसान भीमराज विष्टले सुन्तला बोटमै फुट्न थालेको बताउनुभयो । समयमै रोगको पहिचान र नियन्त्रण हुन नसके बगान नै सखाप हुने भन्दै किसानले कृषि प्राविधिक र सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन् । 

प्रतिकृया दिनुहोस