आईएल टी–२० अक्सनमा दीपेन्द्र सिंह ऐरी ‘अन्सोल्ड’
बिर्तामोड, १६ असोज ।
नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी यूएईमा हुने आईएल टी–२० को पाँचौँ संस्करणका लागि भएको खेलाडी अक्सनमा अन्सोल्ड हुनुभएको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा भएको अक्सनमा दीपेन्द्रले आफ्नो न्यूनतम मूल्य १० हजार अमेरिकी डलर अर्थात् करिब १५ लाख ४३ हजार रुपैयाँ तोक्नुभएको थियो । अक्सनको १९औँ सेटमा उहाँको नाम बोलाइए पनि कुनै फ्रेन्चाइज टोलीले बोली लगाएन ।
दीपेन्द्र यसअघि आईएल टी–२० को गल्फ जायन्ट्समा लगातार दुई सिजन आबद्ध हुनुभएको थियो । तर, दुवै सिजन उहाँले प्रतियोगितामा खेल्ने अवसर पाउनुभएन ।
यसपटक पनि उहाँलाई गल्फ जायन्ट्सको सम्भावित रोजाइमा रहेका खेलाडीका रूपमा हेरिएको थियो । अक्सनअघि सार्वजनिक सूचीमा उहाँलाई नेपालका क्याप्ड अलराउन्डरका रूपमा राखिएको थियो ।
आईएल टी–२० को पाँचौँ संस्करण आगामी नोभेम्बर २१ देखि डिसेम्बर २० सम्म यूएईमा आयोजना हुँदैछ ।











प्रतिकृया दिनुहोस