कांग्रेस महाधिवेशनमा भोलि बिहान ७ बजेबाट मतदान हुने 

नेपाली कांग्रेसको आईतबारदेखि जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज पाचौँ दिन भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतदानको पूर्व सन्ध्यामा उम्मेदवार तथा प्रतिनिधिहरूको चहलपहल । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौँ, २२ असोज । 
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान हुन नसक्ने भएको छ ।
बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटकसम्म समय सारेर दिउँसो साढे २ बजेसम्म पु¥याइएको थियो । तर, त्यसपछि पनि मतदान सुरु हुन नसकेपछि केन्द्रीय निर्वाचन समितिले आजका लागि नयाँ समय सार्वजनिक नगरी निर्वाचन कार्यक्रम भोलिका लागि सारेको हो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार अब मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु हुनेछ ।
निर्वाचन सामग्री छपाइबाट आउन ढिलाइ भएकाले मतदान समयमै सुरु गर्न नसकिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन सामग्री तयार पार्ने काममा ढिलाइ भएपछि मतदानको समय पटकपटक सारिएको हो ।
कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयनका लागि सभापतिसहित विभिन्न पदमा उम्मेदवारी परेको छ । मतदानपछि मतगणना गरी परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस