वैदेशिक रोजगार व्यवसायी संघ विभाजनको सँघारमा

काठमाडौँ, २२ असोज । 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ विभाजनको सँघारमा पुगेको छ । मलेसियाले २ सय ७५ म्यानपावर व्यवसायीलाई ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’मा सूचीकृत गरेपछि उत्पन्न विवादले संघभित्र विभाजनको अवस्था आएको हो ।
मलेसियाको उक्त प्रणालीमा सूचीकृत भएकामध्ये संघले सुरुमा २५ म्यानपावरलाई निलम्बन गरेको थियो । पछि थपिएका २ सय ५० म्यानपावरलाई समेत निलम्बन गर्दै संघले स्पष्टीकरण मागेको छ ।
वैदेशिक रोजगार विभागले पनि सूचीकृत व्यवसायीमाथि अनुसन्धान गरिरहेको छ भने उनीहरूको श्रमिक पठाउने पूर्वस्वीकृति रोकिएको जनाइएको छ ।
कारबाहीमा परेका व्यवसायीले छुट्टै संघ गठन गर्ने तयारी थालेका छन् । उनीहरूले आफूहरूसँग छलफल र संवाद गर्नुको सट्टा संघले निलम्बन तथा निष्कासन गरेको आरोप लगाएका छन् । उनीहरूले मलेसियाले आफ्नै प्रणालीमा सी–लाइसेन्सका आधारमा नाम सूचीकृत गरेको दाबी गरेका छन् ।
मलेसियाले एफडब्लूसीएमएस प्रणालीअन्तर्गत नेपालका २५ वटा प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी र २ सय ५० वटा एसोसिएट रिक्रुटमेन्ट एजेन्सीमार्फत मात्रै श्रमिक लैजान पाउने गरी सूची सार्वजनिक गरेको थियो ।
ती एजेन्सीमार्फत आगामी नोभेम्बर ५ तारिखदेखि श्रमिक पठाउन सुरु गर्ने गरी अन्तिम मिति तोकिएको छ । यही विषयलाई लिएर वैदेशिक रोजगार व्यवसायीबीच देखिएको विवादले संघ नै विभाजन हुने अवस्था सिर्जना भएको हो । ०००००
 

प्रतिकृया दिनुहोस