आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौँ, २९ असोज । 
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवद्र्धन र सहयोगका लागि नयाँ निर्देशिका जारी गरेको छ ।
मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको हो। यसअघि लागू गरिएको २०७३ सालको निर्देशिकालाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य पालना गर्नुपर्ने १०–१० वटा मापदण्ड निर्धारण गरेको छ ।
निर्देशिकाअनुसार प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ । बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै शय्यामा राख्न र सकेसम्म छिटो स्तनपान गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।
त्यस्तै, आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्रीवितरण र प्रचारप्रसारलाई नियमन गर्दै आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्रीवितरण नियन्त्रणसम्बन्धी ऐन, २०४९ को प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।
सुत्केरी र नवजात शिशु अस्पतालबाट घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्या पहिचान गर्न स्वास्थ्य संस्थाले सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।
नयाँ निर्देशिकाले प्रसवदेखि सुत्केरीपछिको अवस्थासम्म गुणस्तरीय मातृशिशुमैत्री सेवा निरन्तर उपलब्ध गराउँदै आमा र नवजात शिशुको स्वास्थ्य तथा सुरक्षालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस