राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना

बिर्तामोड, ३१ असोज । 

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ।
दसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले दसैँले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुत बनाउने बताउनुभएको छ। उहाँले भौगोलिक, भाषिक र सांस्कृतिक विविधताबीच सामाजिक एकता सुदृढ गर्न पनि यस पर्वले महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभएको छ।
राष्ट्रपति पौडेलले दुर्गा भगवतीले दानवी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको धार्मिक मान्यताको स्मरण गर्दै दसैँलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्व बताउनुभएको छ।
यसैबीच, देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। साथै, बाढी प्रभावितको पुनःस्थापनाका लागि सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ।

प्रतिकृया दिनुहोस