बडादशैंको आठौं दिन आज महाअष्टमी मनाइँदै


बिर्तामोड, १ कात्तिक । 
बडादसैँ एवं नवरात्रको आठौँ दिन आज नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। वैदिक सनातन परम्पराअनुसार आश्विन शुक्ल अष्टमीका दिन महागौरीको पूजा गर्ने चलन छ। महागौरीलाई सेतो वृषभमा सवार, गोरो वर्ण र श्वेत वस्त्र धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेर शैलपुत्रीको पूजा गरिएको थियो। त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रिको पूजा गरिएको छ। हिजो सातौँ दिन फूलपाती भित्र्याइएको थियो।
नवरात्रका नौ दिन दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरी पूजा आराधना गर्ने परम्परा छ। देवीको आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको चहलपहल बढेको छ। नवरात्रको पूजा सम्पन्न भएपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर १५ दिनसम्म बडादसैँ मनाउने परम्परा छ।
 

प्रतिकृया दिनुहोस